काठमाडौं । प्रदेश ६ मा रहेका ३ सय मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदशनशील रहेको बताइएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुरक्षा रणनीति तयार पार्दै सुरक्षा संयन्त्रले अति संवेदशनशील मानिएका ती स्थानको विशेष सुरक्षा योजना बनाएको हो ।
प्रदेशका १० जिल्लामा ८ सय ९६ मतदानस्थलमध्ये भौगोलिक विकटता, सुरक्षा संयन्त्रको कमजोर पहुँच, दलहरूबीच सम्भावित झडप हुन सक्ने र विप्लव नेतृत्वको पार्टी प्रभाव रहेका स्थानलाई अति संवेदनशील मानिएको हो । सल्यानलाई सबैभन्दा बढी संवेदनशीलका रूपमा हेरिएको छ । यहाँका ७० मतदानस्थल सुरक्षाको पहुँचका आधारमा अति संवेशनशील छन् ।
त्यस्तै कालिकोट दोस्रोमा परेको छ । क्षेत्रीय प्रशासनका अनुसार एक सय ११ मतदानस्थल रहेको सल्यानमा ७० अति संवेदनशील र ३६ संवेदनशील छन् । कालिकोटमा ६८ अति संवेदनशील र २९ संवेदनशील छन् । पश्चिम रुकुममा नौ स्थल अति संवेदनशील र ५७ वटा संवेदनशील छन् । जुम्लामा ४१ मतदान स्थललाई अति संवेदनशील मानिएको छ ।
कालिकोट र जुम्लामा विप्लव नेतृत्व पार्टीलाई मुख्य सुरक्षा चुनौतीका रूपमा हेरिएको छ । भौगोलिक रूपमा विकट भएका कारण डोल्पाका २१ संवेदनशील र ३० स्थल अति संवेदनशील छन् । मुगुमा १८ अति संवेदनशील र १८ संवेदनशील छन् । १६ मतदानस्थल संवेदनशील मानिएका हुम्लामा १५ स्थल अति संवेदनशील छन् ।
जाजरकोटमा अति संवेदनशील १२ र संवेदनशील स्थल २८ छन् । दैलेखमा भने पाँच वटालाई अति संवेदनशील भनिएको छ । पहिलो र दोस्रो चरणमा गरी निर्वाचन हुने १० जिल्लामध्ये दैलेख अन्यको तुलनामा कम संवेदनशील मानिएको छ ।
सुर्खेतमा २० मतदानस्थललाई अति संवेदनशील मानिएको छ । मध्यपश्चिम क्षेत्रीय प्रशासनले अधिकांश मतदानस्थल संवेशनशील भए पनि सुरक्षाको व्यवस्थापन मिलाइएको जनाएको छ । यस प्रदेशमा निर्वाचनका लागि झन्डै १० हजार सुरक्षाकर्मी परिचालन गरिनेछ ।
प्रदेश प्रहरी प्रमुख (एआईजी) रणबहादुर चन्दले ८ सय ९६ मतदान स्थलमा ५ हजार म्यादी, ४ हजार नेपाल प्रहरी र १ हजार ५ सय सशस्त्र प्रहरी परिचालन गरिने बताए । केन्द्रीय सुरक्षा रणनीतिअनुसार क्षेत्र र जिल्लामा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ । प्रदेशका ७ जिल्लामा पहिलो चरणअन्तर्गत मंसिर १० गते र सुर्खेत, दैलेख र सल्यानमा मंसिर २१ गते निर्वाचन हुँदै छ ।
बर्दियामा ५७ स्थान
गुलरिया– प्रतिनिधि र प्रदेशसभाका निर्वाचनका लागि बर्दियाको ५७ क्षेत्रलाई अति संवेदनशील मानिएको छ । अति संवेदशनशील मानिएका ती क्षेत्रमा नेपाल–भारत सीमा, बासगढी, पाताभार, बनियाभारलगायत रहेको प्रशासनले जनाएको छ ।
प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार अति संवेदनशील तथा संवेदनशील ४१ र सामान्य ५५ मतदान केन्द्र रहेका छन् । अति संवेदनशील र संवेदनशील मानिएको स्थलमा सुरक्षा जाँचलाई कडा पारिएको प्रहरीले जनाएको छ । नेपालभारत सीमामा चेकजाँच कडा पार्नुका साथै निगरानी बढाइएको छ ।
जनशक्ति अभाव भएका कारण समस्या देखिएको भट्टराईले भने, ‘थप जनशक्तिका लागि केन्द्रलाई जानकारी गराएका छांै ।’ थोरै सवारीसाधनले गस्तीमा समस्या आएको सुरक्षा निकायले जनाएको छ । विगतमा अभाव खासै नभए पनि पुराना थोत्रा सवारीले सुरक्षामा खटनपटन गर्दा समस्या देखिन्छ ।
कान्तिपुरबाट




