काठमाडौँ । यो वर्षको भोटो जात्रा ललितपुरको जावलाखेलमा आइतबार देखाइँदैछ । रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्याएको थियो ।
जावलाखेल पुर्याएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार भोटो देखाउन लागिएको हो । आज साँझ ५ बजे देखाइने भोटोजात्रा समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले रातो मच्छिन्द्रनाथको भोटो देखाउनेछन् ।
रथ जावलाखेल पुर्याएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार भोटो देखाउन लागिएको हो । यो जात्रा अवलोकन गर्न हजारौं सर्वसाधारण जाउलाखेलमा जम्मा हुने गर्दछन् ।
मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ । भोटोजात्रा सकिएपछि आइतबार मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहाल पुर्याइन्छ ।
उपत्यककाको सबैभन्दा लामो जात्राका रुपमा परिचित मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर झण्डै दुई महिनासम्म सञ्चालन हुने गर्दछ ।



