काठमाडौं । असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा उमेदवारी दर्ता भएको छ ।
निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा बुधबार भएको उमेदवारी मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।
बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उमेदवारी दर्ताका लागि समय निर्धारण गरिएको थियो । मनोनयन दर्ता मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समय ५ बजेभित्र प्रवेश गरिसकेका उमेदवारहरुको उम्मेदवारी दर्ता कार्य साँझ अबेरसम्म पनि भएको थियो ।
चुनावका लागि १८ हजार बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन् । आयोगको कार्यतालिकाअनुसार २३ भदौमा मनोनयन परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ । सार्वजनिक भएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा २३ गते नै फिर्ता लिन सक्नेछन् ।
आयोगले उम्मेदवारको अन्तिम नामावली २४ गते सार्वजनिक गर्नेछ भने सोही दिन नै उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगको कार्यतालिकामा उल्लेख छ ।आयोगले २ असोजका दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ ।




