बूढानीलकण्ठ नारायणथानस्थित गीता ढकालको घरमा काम गर्ने मान्छेको खाँचो थियो । महाराजगन्जस्थित उनको अफिसमा एक दिन बालाजुका ३० वर्षीय सुदामा लामिछाने काम खोज्दै आइपुगे ।आफ्नो मावली पनि लामिछाने भएको र आफन्तले नै ल्याएर चिनाएकाले गीताले सुदामालाई आफ्नै घरमा काम गर्न प्रस्ताव गरिन् । सुदामाले सजिलै स्विकारे । छोरीले लामिछाने थरकै घरेलु सहयोगी ल्याइन् भनेर आमा पार्वती ढकाल पनि दंग परिन् ।
घरमा काम गर्ने भए पनि पार्वती सुदामालाई असाध्यै स्नेह गर्थिन् । गत जेठ २४ गते गीताको घरमा काम गर्न थालेका सुदामा असार १ गते राहदानी बनाउन जाने भन्दै निस्किए । यसबीच असार १२ गते पार्वतीको हत्या र घरमा लुटपाट भयो । त्यो गर्ने तिनै सुदामा भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले सुदामालाई बिहीबार पक्राउ गरेको छ । मधेसी भेषमा नेपालबाट भाग्न लाग्दा प्रहरीले उनलाई सीमाक्षेत्रमा पक्रेको हो । उनले पैसाका लागि ५५ वर्षीया पार्वतीको टाउकोमा हमरले हानेर हत्या गरेको प्रहरीसँग स्वीकारेका छन् ।
हत्यापछि घरमा भएको सुन तथा नगद गरी २० लाख रुपैयाँभन्दा बढीको लुटपाट भएको थियो । अनुसन्धानमा सुदामा एक सहयोगीसहित गीताको घर पुगेको देखिएको छ । पार्वती छोरी र नातिसँग त्यहाँ बस्दै आएकी थिइन् ।
गीता अफिस जाने र नाति स्कुल जाने मौका पारेर सुदामा दिउँसो १२ बजे त्यहाँ पुगेका थिए । ‘घरमा जाँदा सुदामाले साथमा केही नलगेको र किचनमा भएको हमरले हानेको देखिएको छ’, स्रोतले भन्यो । प्रहरीसँगको प्रारम्भिक बयानमा सुदामाले घटनाको केही दिनअघि मात्र लुटपाट योजना बनाएको बताएका छन् । सुदामाले त्यसअघि विदेश जान भन्दै पार्वतीसँग पैसा माग्ने गरेका थिए । सुदामा बाल यौनदुराचार मुद्दामा यसअघि आठ वर्ष जेल बसेका थिए । उनी २०६४ देखि २०७१ सम्म जेल बसेका थिए।
यसरी भयो घटना
सुदामा असार १२ गते सहयोगीको माइक्रोबसमा नारायणथान पुगे । केही वरै माइक्रोबस राखेर गीताको घर पुगे । पार्वतीले ढोका खोलिदिइन् । सुदामा आफैँ चिया पकाउन किचन छिरे । पार्वती माथि पुगेर आउँछु भन्दै माथिल्लो तलामा गइन् । जब उनी तल ओर्लिएर कुर्सीमा बसेकी मात्रै के थिइन्, पछाडिबाट टाउकोमा हमर प्रहार भयो । उनी चिच्याउन खोजेपछि एक जनाले मुख थुने र अर्कोले लगातार प्रहार गरे । पार्वती अचेत भएपछि सुदामाले माथि गएर सुन तथा अन्य गरगहना र पैसा जम्मा पारे । अनि दुवै त्यहाँबाट निस्किए ।
दिउँसो दुई बजे नाति स्कुलबाट घर फर्किएपछि मात्र घटनाबारे थाहा भएको थियो । घरको गेट खुलै रहेको र ढोका छिर्नेबित्तिकै हजुरआमा रक्ताम्य अवस्थामा लडिरहेको देखेपछि नातिले छिमेकी र आफन्तलाई खबर गरेका थिए । छिमेकी जम्मा भएर अस्पताल पुर्याउँदासम्म पार्वतीको मृत्यु भइसकेको थियो । उनका दुई छोरी छन् । गीता जेठी हुन् ।
अन्नपूर्ण पोस्टबाट
प्रतिकृया दिनुहॊस