काठमाडौं । सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष भट्टलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औपचारिक रूपमा शपथ ग्रहण गराएका हुन् ।
असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । शपथपछि अर्थमन्त्री वाग्लेले पुँजी बजारमा लगानीकर्ताको लगानी सुरक्षा र बजारप्रति विश्वास बढाउने गरी काम गर्न अध्यक्ष भट्टलाई निर्देशन दिए । उनले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा प्रभावबाट टाढा रहेर निष्पक्ष रूपमा काम गर्नुपर्नेमा जोड दिए । साथै, पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको गति समाउन पुँजी बजारलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका लागि छोटोदेखि दीर्घकालीन कार्ययोजना आवश्यक रहेको उल्लेख गर्दै दैनिक, साप्ताहिक, मासिक, छ महिनादेखि एक वर्षसम्मका स्पष्ट योजना प्रस्तुत गर्न निर्देशन दिए । बजारमा फैलिने अनावश्यक हल्लाले साना लगानीकर्तामा त्रास सिर्जना हुने भएकाले त्यसलाई नियन्त्रण गर्न पनि आग्रह गरे ।
उनले,‘धेरै बोलेर होइन, काम गरेर प्रमाणित गर्नुपर्ने’ भन्दै परिणाममुखी कार्यसम्पादनमा जोड दिए । साथै, मन्त्रालयबाट हस्तक्षेप नहुने तर हरेक हप्ता बजारको प्रगति विवरण बुझ्न चाहने बताए । कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको विश्वासअनुसार पुँजी बजार सुधारमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए । उनले लगानीकर्ताको हित, बजार विकास र आर्थिक वृद्धिको लक्ष्यलाई ध्यानमा राख्दै विगतका अध्ययन तथा सिफारिसहरू कार्यान्वयन गर्ने बताए ।



