भेनेजुएलामा भूकम्पका कारण मृत्यु हुनेको संख्या २३५ पुग्यो

“ सयौं स्थानीय स्वयंसेवकले पानी, खाद्यान्न, औषधि, लत्ताकपडा तथा अत्यावश्यक सामग्री वितरण गरिरहेका छन् । विपक्षी नेतृ मारिया कोरिना माचाडोको दलले पनि स्वयंसेवक परिचालन गर्दै राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ ।”


काठमाडौं । हालै गएको शक्तिशाली दुईवटा भूकम्पपछि दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा मृत्यु हुनेको संख्या २३५ पुगेको छ भने ४ हजार ३०० भन्दा बढी मानिस घाइते भएका छन् । भेनेजुएलाकी स्वास्थ्यमन्त्री कारिका अल्भाराडोका अनुसार अधिकांश घाइते सामान्य अवस्थाका भए पनि धेरै गम्भीर घाइतेको शल्यक्रिया गर्नुपरेको छ । उनले अस्पतालमा ल्याइएका २३५ जनालाई मृत घोषणा गरिएको जानकारी दिइन् ।

भूकम्पका कारण राजधानी काराकाससहित ला गुआइरा, काराबाल्लेडा, भार्गासलगायतका क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । हजारौं भवन भत्किएका छन् भने सडक, पुल र अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ । यसबीच प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य तीव्र पारिएको छ । सयौं स्थानीय स्वयंसेवकले पानी, खाद्यान्न, औषधि, लत्ताकपडा तथा अत्यावश्यक सामग्री वितरण गरिरहेका छन् । विपक्षी नेतृ मारिया कोरिना माचाडोको दलले पनि स्वयंसेवक परिचालन गर्दै राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ ।

अमेरिकाले पनि मानवीय सहायता अभियानलाई सहयोग गर्न आफ्नो दक्षिणी कमाण्ड मार्फत सी–१७ ग्लोबमास्टर र सी–१३० हरक्युलिस सैन्य मालवाहक विमान परिचालन गरेको छ । ती विमानमार्फत राहत सामग्री, उद्धार उपकरण तथा आवश्यक जनशक्ति प्रभावित क्षेत्रमा पु¥याइँदैछ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूकम्पबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संयुक्त राष्ट्रसंघले भेनेजुएला सरकारसँग समन्वय गरेर आपत्कालीन राहत तथा मानवीय सहायता उपलब्ध गराइरहेको बताएका छन् ।

यस्तै, फ्रान्सले राष्ट्रपति इमानुएल म्याक्रोँको निर्देशनमा चिकित्सक, उद्धारकर्मी, खोजी कुकुर र भग्नावशेषबाट उद्धार गर्ने विशेषज्ञसहितको विशेष टोली पठाएको छ । यो टोली युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत परिचालन गरिएको हो । स्विट्जरल्यान्डले पनि ८० जना विशेषज्ञ, आठवटा खोजी कुकुर तथा करिब १८ टन उद्धार सामग्रीसहितको ‘स्विस रेस्क्यु चेन’ टोली काराकासतर्फ पठाएको छ । उक्त टोलीले स्थानीय निकायसँग समन्वय गरी भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारमा सहयोग गर्नेछ । अन्तर्राष्ट्रिय समुदायबाट राहत, उद्धार तथा मानवीय सहयोग निरन्तर बढिरहेका बेला प्रभावित क्षेत्रमा अझै हजारौं मानिस बेपत्ता रहेको आशंका गरिएको छ । उद्धारकर्मीहरूले भग्नावशेष हटाउने कार्य जारी राखेका छन् । एएनआई

तपाईंको प्रतिकृया

लेखकबाट थप