सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको प्रधानमन्त्रीद्वारा निरीक्षण

रौतहट । चितवनको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रको प्रधानमन्त्री वालेन्द्र शाहले विशेष निरीक्षण गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका प्रधानमन्त्री शाह सोमबार परिवार सहित तालिम केन्द्र पुगेका हुन्।

पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहको यो भ्रमण राजनीतिक व्यस्तताका बीच प्रकृति, वन्यजन्तु संरक्षण र स्थानीय पर्यटनको अवस्था बुझ्ने प्रयासका रूपमा हेरिएको छ। हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार प्रधानमन्त्री शाहले केन्द्रको स्थलगत वस्तुस्थितिबारे चासोपूर्वक जानकारी लिएका थिए। निरीक्षणका क्रममा उनले केन्द्रको व्यवस्थापन, हात्तीहरूको स्वास्थ्य अवस्था र सुत्केरी तथा बच्चा हात्ती (छावा) हरूको स्याहार–सुसार कसरी भइरहेको छ भन्नेबारे प्रत्यक्ष अवलोकन गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा सञ्चालन भइरहेको छ। महाधिवेशनमा भाग लिन देशभरका नेता तथा कार्यकर्ताहरू चितवनमा केन्द्रित भएका छन्। सोही क्रममा चितवन आएका प्रधानमन्त्री शाहले महाधिवेशनका महत्त्वपूर्ण राजनीतिक सत्रहरूका बीच समय निकालेर वन्यजन्तु संरक्षणको क्षेत्रमा चासो देखाउँदै खोरसोर पुग्नुलाई स्थानीय पर्यटन व्यवसायी र संरक्षणकर्मीहरूले उत्साहजनक रूपमा लिएका छन्।

प्रधानमन्त्रीको यस निरीक्षणले चितवनको पर्या–पर्यटन प्रवर्धन र दुर्लभ वन्यजन्तुको संरक्षणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री