किष्ट अस्पतालद्वारा २ सयजना अंगदातालाई सम्मान

ललितपुर । ललितपुरस्थित किष्ट शिक्षण अस्पताल अन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रद्वारा बुधबार अंगदातालाई सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। मानव जीवन बचाउने महान कार्यमा योगदान पुर्‍याउने अंगदाताहरूप्रति सम्मान तथा कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजित कार्यक्रममा २०० भन्दा बढी अंगदातालाई सम्मान गरिएको हो । साे कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, स्वास्थ्यकर्मी, प्रत्यारोपण विशेषज्ञ, बिरामी तथा अंगदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख तथा उपत्यका मेयर फोरमका अध्यक्ष चिरिबाबु महर्जनले गरेका थिए। उक्त कार्यक्रममा बोल्दै उनले अंगदानलाई मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै अंगदाताहरू समाजका वास्तविक नायक भएको बताए। ‘कुनै व्यक्तिको अंगदानले अर्को व्यक्तिलाई नयाँ जीवन दिन सक्छ। यस्तो महान कार्यलाई समाजभर प्रोत्साहन गर्न आवश्यक छ,’उनले भने। उनले किष्ट शिक्षण अस्पतालले निजी क्षेत्रमा प्रत्यारोपण सेवामार्फत उल्लेखनीय योगदान पुर्‍याएको समेत वताए ।

विगत पाँच वर्षदेखि ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल निजी क्षेत्रमै उच्च सफलता दरसहित प्रत्यारोपण सेवामा अग्रणी रहँदै आएको छ। हालसम्म अस्पतालले २०२ जनामा मिर्गौला प्रत्यारोपण तथा १५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरी बिरामीहरूलाई “दोस्रो जीवन” प्रदान गरिसकेको अस्पतालका प्रबन्ध निर्देशक डा.अभिशेक थापाले जानकारी दिए । निजी अस्पतालहरूमध्ये सबैभन्दा बढी अंग प्रत्यारोपण गर्ने संस्थाका रूपमा किष्ट शिक्षण अस्पताल स्थापित भएको पनि उनले दाबी गरे ।

कार्यक्रममा अस्पतालले आफ्नो सेवाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता दिलाउँदै एनएबीएच प्रमाणीकरण प्राप्त गरेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रिन्सिपल प्रा. डा. बालमान सिंह कार्कीले बताए । अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एकैसाथ गरिने मिर्गौला र कलेजो प्रत्यारोपण,दुई परिवारबीच आपसी सहमतिमा गरिने अंग प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट गरिने प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक गर्दै आएको पनि उनले जानकारी दिए। नेपालको सन्दर्भमा एकैसाथ मिर्गौला र कलेजो प्रत्यारोपण शल्यक्रिया पहिलोपटक किष्ट शिक्षण अस्पतालले सम्पन्न गरेको उल्लेख गर्दै उक्त उपलब्धि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित राष्ट्रिय संयुक्त वार्षिक समीक्षा प्रतिवेदन २०७९र८० मा समेत समावेश गरिएको कार्कीले जानकारी गराए।

किष्टमा हालसम्म प्रत्यारोपण गरिएका बिरामीहरूमध्ये सबैभन्दा बढी उमेरका ८० वर्षीय तथा सबैभन्दा कम उमेरका १९ वर्षीय बिरामी रहेका छन्। ८० वर्षीया एक महिलामा क्यान्सर रोग पहिचान भएपनि चिकित्सकीय रूपमा अंगदान योग्य ठहरिएपछि उनको अंगदानबाट आफन्तको जीवन बचाउन सफल भएको उदाहरणसमेत अस्पतालले प्रस्तुत गरेको छ। कार्यक्रममा उपत्यकाका अधिकांश नगरप्रमुख तथा नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको समेत उपस्थिति थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री