काठमाडाै । सञ्चारिका समूहले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीलाई भेटेर २१ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। लैङ्गिक समानता प्रवर्द्धन तथा लैङ्गिक हिंसा अन्त्यका लागि पहल गर्न उक्त मागपत्र पेश गरिएको हो ।
साे भेटका क्रममा समूहले महिलामाथि हुने हिंसा अझैपनि बहुआयामिक र गहिरो सामाजिक समस्याका रूपमा रहेको औंल्याएको छ। घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, कार्यस्थलमा हुने विभेद, बालविवाह, मानव बेचबिखनदेखि पछिल्लो समय बढ्दो डिजिटल हिंसासम्मका घटनाले महिलाको अधिकार, आत्मसम्मान र स्वतन्त्रतामा गम्भीर असर पारिरहेको उल्लेख गरिएको छ। संविधानले अधिकार सुनिश्चित गरे पनि व्यवहारमा कानुन कार्यान्वयन कमजोर हुँदा पीडित महिलाहरू न्यायबाट टाढा रहन बाध्य भएको समूहले भेटका क्रममा वताएकाे छ ।
ध्यानाकर्षण पत्रमा CEDAW रोडम्यापको प्रभावकारी कार्यान्वयन, लैङ्गिक हिंसाविरुद्ध एकीकृत कानुन निर्माण, द्रुत र पीडितमैत्री न्याय प्रणालीको व्यवस्था, तथा साइबर हिंसालाई स्पष्ट रूपमा कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ। साथै सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य अधिकार, डिजिटल सुरक्षा र सबै वर्गका महिलालाई समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । समूहले विशेषगरी दलित, आदिवासी, अपाङ्गता भएका, तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका महिलाहरू उच्च जोखिममा रहेको भन्दै उनीहरूलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र स्रोत परिचालन गर्न सरकारसँग आग्रह गरेको छ।
यसैबीच मन्त्री सिता बादीले सञ्चारिका समूहसँग सहयात्रा गर्दै काम गर्ने प्रतिबद्धता जनाएकी छन् । समूहले सुझाएका सबै विषयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै ती मुद्दालाई संवेदनशील रूपमा लिएर आवश्यक पहल गर्ने उनकाे भनाइ छ । भेटका क्रममा दुवै पक्षबीच आगामी दिनमा नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो। सरोकारवाला समूह, नागरिक समाज र सरकारबीचको समन्वयलाई सुदृढ गर्दै लैङ्गिक समानता र हिंसा अन्त्यका प्रयासलाई व्यवहारमै देखिने गरी अघि बढाउनुपर्नेमा जोड दिइएको छ।



