काठमाडौँ । हिमालयन बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको अत्याधुनिक, थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा आजबाट शुरु गरेको छ ।
बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अशोक शम्सेर राणा र मास्टरकार्डका दक्षिण एसिया क्षेत्रीय प्रमुख पोरुष सिंहले सो कार्ड सेवाको शुभारम्भ गरे।
हिमालयन बैंकका ग्राहकले मास्टरकार्डबाट कारोबार गरी सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेन्टहरु(होटल, रेष्टुराँ, पब लगायत अन्य पसलहरु)मा २० प्रतिशतसम्म छुट पाउने छन् ।बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि सो कार्ड निःशुल्क प्रदान गर्ने जनाएको छ ।
हिमालयन बैंकका ग्राहकहरुले देशभर भएका ५७ वटै शाखाहरुबाट उक्त कार्ड लिन सक्ने तथा १११ वटा एटीएम मार्फत प्रयोग गर्न सक्नेछन् ।
साथै उक्त कार्ड नेपाल र भारतका पस मेशिनहरुमा प्रयोग गर्दा कुनैपनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।




