२१ जेष्ठ २०८३, बिहीबार

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

‘विगतमा प्रयोग गरिएको प्रणालीमा रहेको ‘स्मार्ट चिप’को पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन—अफलाइन प्रमाणीकरण प्रणाली जस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको व्यावहारिक उपयोगिता न्यून रहनुका साथै विदेशी विज्ञको सहयोगमा निर्भर हुनु पर्दा सृजित जोखिम न्यूनिकरण गर्न हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेयर्ड र कपी—प्रोटेक्टेड बौद्धिक क्यू.आर.प्रविधि अवलम्बन गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार विगतमा प्रयोग गरिएको स्मार्ट चिप प्रणाली आवश्यक पूर्वाधारको अभावका कारण प्रभावकारी हुन नसकेको र विदेशी प्राविधिकमा निर्भरता बढाएको थियो । यही अवस्थालाई सुधार गर्न अहिले उच्च सुरक्षायुक्त कोड इन्क्रिप्टेड, लेयर्ड र कपी—प्रोटेक्टेड ‘बौद्धिक क्यूआ प्रविधि प्रयोगमा ल्याइएको हो । यस प्रविधिबाट इन्टरनेट बिना नै ट्राफिक प्रहरी वा सम्बन्धित निकायले कार्ड स्क्यान गरी तुरुन्तै चालकको पहिचान प्रमाणीकरण गर्न सक्नेछन् । नयाँ अनुमतिपत्रमा ३९ प्रकारका सुरक्षा विशेषता समावेश गरिएको मन्त्रालयले जनाएको छ ।

पहिलो तहमा सामान्य आँखाले देख्न सकिने मेटालिक सिल्भर इंक, मेसिनले पढ्न सक्ने जोन (एमआरजेड) तथा फोटोसँग जोडिएका विशेष सुरक्षण ढाँचाहरू छन् । दोस्रो तहमा भने विशेष उपकरणमार्फत मात्र देखिने अदृश्य युभी मसी र ‘इन्फ्रारेड एब्जोप्र्सन’ प्रविधि प्रयोग गरिएको छ । तेस्रो वा फोरेन्सिक तहमा प्रयोगशालामा मात्र परीक्षण गर्न सकिने ‘डिजिटल फिंगरप्रिन्ट’ र प्रोप्राइटरी रसायनिक हस्ताक्षरजस्ता उच्चस्तरीय सुरक्षा संयन्त्र राखिएको जनाइएको छ । प्रत्येक कार्डको डिजाइन अर्को भन्दा फरक हुने भएकाले एक कार्ड अर्को कार्डसँग पूर्णतः भिन्न हुने र यसले नक्कली बनाउने सम्भावना न्यून बनाएको दाबी गरिएको छ ।

सम्पूर्ण उत्पादन प्रक्रिया एन्ड—टु—एन्ड अफलाइन प्रणालीमा आधारित भएकाले डेटा चुहावटको जोखिम नरहेको र नागरिकको गोपनीयता सुरक्षित रहने दाबी गरिएको छ । क्यूआर कोडको वैधता कार्डको अवधि भर कायम रहने जनाइएको छ । मन्त्रालयले यस परियोजनामा सहयोग पुयाउने सबै निकाय, सञ्चार क्षेत्र र नागरिकप्रति आभार व्यक्त गर्दै छपाइ तथा वितरणबारे सुझाव र जिज्ञासाका लागि सधैँ खुला रहने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री