महिला उद्यम :महिला उद्यमीहरूलाई प्रचार–प्रसार गर्न मिडियाको महत्वपूर्ण भूमिका

काठमाडौँ । महिला उद्यमशीलता प्रवर्द्धनमा मिडियाको भूमिकाको बिषयमा मुलधारका मिडियामा दिइने प्राथमिकताका बिषयमा सञ्चारिका समूह नेपालले आज सोमबार विज्ञहरुसँग छलफल गरेको छ ।
महिलाका स –साना उद्यमका बिषयलाई पनि कसरी सकारात्मक ढंगले सञ्चारमाध्यमा स्थान दिन सकिन्छ भन्ने बिषयमा छलफलमा सहभागी सम्पादक,नागरिक समाज, मानवअधिकारकर्मी र पत्रकारहरुले आ आफ्ना धारणा राखेका थिए । सञ्चारिकाले चैत्र ११ गते जिआईजेड नेपालको सहयोगमा देशभरीबाट उद्यमशीलताका क्षेत्रमा लागेका महिलाहरुको संर्घषका प्रेरणामुलक समाचार प्रकाशित गरेको थियो । अन्नपूर्णपोस्ट राष्ट्रिय दैनिकमा ‘उद्यमी महिला’ नाम दिएर २१ ओटा फेलोसिप स्टोरीहरु प्रकाशन गरेको थियो ।

उक्त अंकमा प्रकाशित भएका स्टोरीहरुका बिषयमा सम्पादक हरिबहादुर थापाले राजनीतिका बिषयले मात्र सञ्चारमाध्यममा प्राथमिकता पाइरहेको समयमा महिला उद्यमीका अदृश्य पाटाहरु मूलधारका मिडियाले समेट्नु सकारात्मक पक्ष रहेको बताउँदै भने,‘महिला उद्यमीका बिषयमा सम्पादन गरिराख्दा साना बिषय तर प्रेरणामुलक बिषय पनि खोतल्दा उद्यमी क्षेत्रमा लाग्नका लागि हौसला मिल्ने देखिन्छ । यस्ता बिषयलाई मूलधारका मिडियाले नजरअन्दाज गरेको अवस्था सर्वस्विकार्य हो ।’

कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै महिला उद्यमी श्याम वदन श्रेष्ठले महिला उद्यमीहरु परिवारबाट बचेको समयलाई सदुपयोग गर्दै गरेको उद्यम सञ्चारमाध्यमको नजरमा नपरेको गुनासो गर्दै भनिन्,‘हामीलाई हौसला र प्रेरणा आवश्यक छ । कति दिदिबहिनीहरु हौसला नपाएर महिला उद्यमशीलतामा लाग्ने चाहना हुँदाहुँदै पनि यत्तिकै हराउनुभएको छ । मिडियाको साथ हामी साना व्यावसायीका लागि अति आवश्यक छ । हामीलाई बजारीकरण मिडियाले सहयोग गरोस् भन्ने चाहान्छौँ ।’

कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी चरण प्रसाईले सानोतिनो व्यापार व्यावसाय गरेका महिलाहरु प्रति सरकार कति संवेदनशील छ भन्ने कुरा सञ्चारिकाले उठान गर्नुपर्ने उल्लेख गर्दै भने,‘मानव अधिकारको जगमा उभिएर महिलाका उद्यमीका सानातिना बिषयलाई मिडियाले पहिलो प्राथमिकतामा राख्न सरकारले पनि प्राथमिकतामा राख्नुपर्छ ।’
कार्यक्रममा सञ्चारिका समुहकी सल्लाहकार तथा पूर्व अध्यक्ष बबिता बस्नेतले महिलाका हरेक बिषयलाई अब डिजिटलका माध्यमबाट प्रचारप्रचार गर्नका लागि त्यस्ता तालिम अवसर पनि दिइनुपर्ने उल्लेख गर्दै भनिन्,‘जसरी अहिले साना बिषय यति ठूला संघर्षका कथा बन्न सक्छन् भने ति संघर्षको चरणमा बजारीकरणको सहजताका लागि डिजिटललाई पनि प्राथमिकतामा राखौँ ।’

कार्यक्रममा बोल्दै अधिवक्ता पुनदेवी महर्जनले महिला हुन या पुरुष जुनसुकै बिषयका सफलताका स्टोरी भित्रका कानुनी पाटोलाई कानुनी पाटोबाट बलियो बनाईदिनु आवश्यक रहेको बताउँदै भनिन्,‘बिषय उठानसँगै कानुनीरुपमा पनि बलियो र परिपक्व बनाईदिनु मिडियाको कर्तव्य रहेको र जुन भूमिका सञ्चारिकाले निभाएको उल्लेख गरिन् ।’
कार्यक्रममा जिआईजेड नेपालका कम्पोनेन्ट मेनेजर बिनिजा नेपालले मिडियासँग समन्वय गरेर महिला उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिएकी छन् । उनले महिला उद्यमीहरूलाई प्रचार–प्रसार गर्न मिडियाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सामाजिक चुनौतीहरू अझै कायम रहेको बताइन् ।

उनका अनुसार महिलाहरू उद्यमशीलतामा लाग्नु भनेको ठूलो आँट र साहसको विषय हो । यसका लागि समाजको सोच परिवर्तन आवश्यक रहेको र त्यसमा मिडियाले प्रभावकारी भूमिका खेल्न सक्ने उनको भनाइ थियो । त्यस्तै महिलाहरूलाई केवल घरायसी काममा सीमित नगरी पुरुषहरूले पनि साथ र सहयोग गर्नुपर्ने उनले बताए । पुरुषको सहयोगले महिला उद्यमीहरूलाई थप प्रेरणा मिल्ने उनको विश्वास छ ।
महिला उद्यमीहरूलाई मिडियाले प्राथमिकताका साथ उजागर गर्नुपर्नेमा जोड दिँदै प्रविधिसँग उद्यमलाई जोड्न सके महिलाहरू आत्मविश्वासका साथ अघि बढ्न सक्ने उल्लेख गरिन् ।

कार्यक्रममा सञ्चारिकाले महिलाका बिषयलाई मूलधार भनिने सञ्चारमाध्यमले कसरी प्राथमिकता दिएका छन् भन्ने बिषयमा पनि ६ महिनाको प्रतिवेदन सार्वजनिक गरेको थियो । जसअन्तर्गत प्रदेश अनुसारका फरकफरक बिषय सञ्चारमाध्यमको नजरमा परेका छन् । सुदुर र कर्णाली प्रदेशमा छाउपडी,बर्थिङ सेन्टर लगायतका बिषय उठान हुँदै आएका छन् भने अन्य प्रदेशका हकमा सानातिना उद्यमि देखी डिजिटल उद्यमी,राजनीतिक यात्रा र व्यावसायमा छलाङ भन्ने खालका समाचारले प्राथमिकता पाएको औल्याएको छ । सञ्चारिकाले अन्नपूर्णपोस्ट, कान्तीपुर, नागरिक, नयाँपत्रिका, नेपाल समाचारपत्र र गोरखापत्रलाई आधार बनाएर अध्ययन गरेको थियो । उक्त प्रतिवेदन सार्वजनिक गर्दै सञ्चारिका समूह नेपालका अध्यक्ष कमला पन्थीले अझैपनि सञ्चारमाध्यममा महिलाका सफलताका कथा भन्दा बलात्कार, हिंसा,आरोप लगायतका बिषयलाईनै मुख्य हेडलाईन बनाएर राखिएको पाइएको उल्लेख गरिन । कार्यक्रममा २१ जना फेलो सँगै सम्पादक, मेन्टर, नागरिक समाज, अधिवक्ता र महिला उद्यमीहरुको सहभागिता थियो । कार्यक्रम सञ्चारिका समूहकी महासचिव राधा खनालले संचालन गरेकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री