बालेन शाह १३ चैतमा प्रधानमन्त्री बन्दै, को–को बन्नेछन् मन्त्री ?

काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३ चैतमा प्रधानमन्त्री नियुक्ति गर्ने गरी सम्पूर्ण निकायमा पत्रचार गरेको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले दिएकाे जानकारी अनुसार पार्टीले संवैधानिक निकायहरूमा पार्टीका तर्फबाट जानकारी दिइसकेको छ । त्यसअघि नै पार्टीले संसदीय दलको नेता टुङ्ग्याउने भएकाे छ । मन्त्रीमण्डल कति बनाउने भन्ने विषयमा नेताहरूबीच छलफल चलेको थियो । दरबारमार्गस्थित होटल रोयल सिंगेमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डोलप्रसाद (डीपी) अर्यालबीच भएको छलफलमा बढीमा १८ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी भएको छ ।

प्रधानमन्त्री शाहले सपथ लिएकै दिन केही मन्त्रीले पनि सपथ लिने गरी तयारी भइरहेको बुर्लाकाेटीले वताए । रास्वपा स्रोतका अनुसार १८ सदस्यीय बनाउने मन्त्रीमण्डलमा सभापति लामिछानेपक्षबाट १० र बालेनपक्षबाट ८ जनालाई मन्त्री बनाउने गरी छलफल गरिएको सचिवालयले जानकारी दिएकाे छ । उपसभापति अर्याललाई गृहमन्त्री तथा वाग्लेलाई अर्थमन्त्री बनाउने चर्चा रास्वपाभित्र चलेको छ । परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र अमरेशकुमार सिंहको दाबी रहेको बुझिएकाे छ ।  कानुनमन्त्रीमा सोविता गौतम, पर्यटनमन्त्रीमा धनन्जय रेग्मी, विराजभक्त श्रेष्ठ र सुम्निमा उदासको चर्चा  छ ।  सस्मित पोखरेललाई शिक्षामन्त्री बनाउने गरी छलफल भएको छ । त्यस्तै सञ्चारमा जगदीश खरेल र मनिष झाले इच्छा ब्यक्त गरेका छन् भने सुधन गुरुङले भौतिक पूर्वाधारमा दाबी गरेकाे बुझिएकाे छ। स्वास्थ्यमन्त्रीमा तोसिमा कार्की र लेखजंग थापाको चर्चा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री