काठमाडाैं । सरकारी खाताबाट चेकमार्फत हुने भुक्तानीमा नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएकाे छ। सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१) को परिच्छेद ५ को ५.१६.१ अनुसार चेकबाट रकम भुक्तानीसम्बन्धी प्रावधान कार्यान्वयन गर्न थप निर्देश जारी गरेको जानकारी दिइएकाे छ ।
नयाँ व्यवस्था अनुसार अब सरकारी खाताबाट रकम गर्दा वित्तीय भुक्तानी प्रणाली वा ‘अकाउन्ट पेयी’ चेकमार्फत मात्र भुक्तानी गर्न मिल्नेछ। राष्ट्र बैंकले व्यवस्था प्रभावकारी रूपमा लागू गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। प्रावधान अनुसार अनिवार्य रूपमा नेपाल राष्ट्र बैंक वा वाणिज्य बैंकहरूले खिच्ने चेकको अग्रभागको माथिल्लो खाली स्थानमा चेक राइटर, चेक जाँच, चेक प्रोटेक्टर वा रिबन राइटर प्रयोग गर्नुपर्नेछ। ।
कार्यालयको नाममा खिचिएको चेक सम्बन्धित कार्यालय आफैंले खातामा जम्मा गर्न पठाउँदा चेकको पछाडि सम्बन्धित कार्यालयको स्पष्ट बुझिने छाप अनिवार्य रूपमा लगाइनुपर्नेछ। क्लियरिङमार्फत प्राप्त चेकको रकम चेकमा उल्लेखित व्यक्तिको नामकै खातामा जम्मा गर्नुपर्ने छ। तर अन्य व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सो चेक खातामा जम्मा गरिदिँदा भने छाप अनिवार्य नहुने प्रावधान पनि उल्लेख गरिएको छ। प्रावधानहरूमा समय–समयमा जारी हुने निर्देशनअनुसार आवश्यक परिमार्जन हुन सक्ने जानकारी दिइएकाे छ ।




