काठमाडौँ । प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा मिडियाको आवरणमा भ्रमपूर्ण र तथ्यहीन सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जालहरूमाथि निगरानी गरिरहेको जनाएको छ । निर्वाचनलाई प्रभाव पार्ने गरी राजनीतिक दल र उम्मेदवार विरुद्ध गालीगलौज, दुष्प्रचार र द्वेषपूर्ण सूचना प्रवाह गर्ने युट्युब च्यानल, फेसबुक पेज लगायतलाई कारबाहीका लागि प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलको धारणा छ ।
विज्ञप्ति जारी गर्दै काउन्सिलले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा दर्ता र अभिलेखीकरण नभएका तर मिडियाको शैलीमा सञ्चालित सामाजिक सञ्जालबाट आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको जानकारी दिएको छ । निर्वाचन आयोगमा परेका उजुरी र काउन्सिलको आफ्नै अनुगमनका क्रममा कतिपय सामाजिक सञ्जालले निर्वाचन आचारसंहिता प्रतिकूल कार्य गरेको पाइएको छ । सुरुमा सचेत गराउँदा समेत अटेर गरी पटक-पटक नियम उल्लंघन गर्ने सञ्जालहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी प्रशासन तथा साइबर ब्युरोमा पठाइएको काउन्सिलले जनाएको छ । प्रचलित कानुन तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुन सक्ने भन्दै काउन्सिलले संवेदनशील समयमा जिम्मेवार बन्न सरोकारवालालाई ध्यानाकर्षण गराएको छ ।




