विज्ञापन बोर्डले मतदातालाइ भ्रम सिर्जना गर्ने विषयबस्तु बारे अनुगमन गर्ने

काठमाडौँ । विज्ञापन बोर्डले मतदातालाइ भ्रम सिर्जना गर्ने विषयबस्तु बारे अनुगमन गर्ने जानकारी दिएकाे छ । प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता, २०८२ का साथै विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ बमोजिम विभिन्न माध्यममा प्रकाशन, प्रसारण तथा प्रर्दशन भएका विज्ञापन सूचना, सन्देश तथा विज्ञापनलाई समाचारको रुपमा प्रकाशन, प्रसारण भएका विषयवस्तु समेतको विज्ञापन बोर्डले अनुगमन, नियमन, छानविन र कारबाही गरिरहेको छ।

निर्वाचन प्रचार प्रसारका क्रममा सामाजिक सञ्जालको प्रयोग व्यापक भएको तथा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई होच्याउने, भ्रम सृजना गर्ने तथा भन्दै नभनेको कुरा प्रविधिको प्रयोग गरि श्रव्य तथा श्रव्यदृश्य सामग्री बनाई प्रचार प्रसार गरिरहेको पाईएको वताएकाे छ । कृतिम बौद्धिकताको प्रयोग गरि उम्मेदवारको फोटो तथा भिडियो राखेर उनीहरुको स्वरमा प्रसारण भएका सामग्रीले मतदातामा भ्रम सृजना भएको अनुगमनको क्रममा फेला परेको छ। नक्कली खाता बनाई त्यस प्रकारको कार्य गर्ने टिकटक तथा फेसबुक खाता बन्द गर्न र कानून बमोजिम कारबाही गर्न बोर्डले निर्वाचन आयोगलाई सिफारिस गर्दे आएको छ। त्यस प्रकारको भ्रम सृजना गर्ने कार्य कोही कसैबाट भएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुनेछ पनि बाेर्डले वताएकाे छ ।

त्यस्ता सामग्रीबाट भ्रममा नपरी भयरहित भई आफुले चाहेको तथा रोजेको दल तथा उम्मेदवारलाई मतदान गर्नु हुन सम्पुर्ण मतदातामा बोर्ड हार्दिक आह्वान गर्दछ । साथै, विज्ञापन ऐन, नियम, आचारसंहिता तथा निर्वाचन आचारसंहिता विपरीत पोष्टर, पम्प्लेट, टोपी, टिसर्ट तुल, व्यानर, होर्डिङबोर्ड वा भित्तेलेखन भएको पाइएमा वा देखेमा तथा कोणसभा, जुलुस, आमसभा, घरदैलो कार्यक्रम गर्दा निर्वाचन आचारसंहिताले निर्धारण गरेको प्रक्रिया पुरा गरेको नपाइएमा, विज्ञापनलाई समाचारको रुपमा प्रकाशन तथा प्रसारण गर्ने तथा कुनै दल, दलका नेता, उम्मेदवार विरुद्द कुनैपनि प्रकारको भ्रम सृजना गर्ने, होच्याउने एवं भ्रमपूर्ण श्रव्य वा श्रव्यदृश्य सामग्री (डिप फेक) सामाजिक सञ्जाल वा कुनैपनि डिजिटल माध्यम, अनलाईन न्युज पोर्टल, टेलिभिजन, रेडियो एवं पत्रपत्रिकामा प्रकाशन, प्रसारण भएको पाइएमा वा देखेमा विज्ञापन बोर्ड/हुलाक निर्देशनालय/जिल्ला हुलाक कार्यालयमा जानकारी गराईदिनु भई निर्वाचनलाई स्वच्छ, विश्वसनीय स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने कार्यमा सहयोग गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणमा विज्ञापन बोर्डले हार्दिक अनुरोध गरेकाे जानकारी दिएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप