काठमाडाैं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको ९९७५ नम्बरको बस आज बिहान त्रिवेणी (मन्थली) नजिकै ११ बजे दुर्घटनामा परेकाे छ। रामेछापको मचानेटारमा दुर्घटना भएकाे बसमा मृत्यु हुनेकाे सँख्या १२ पुगेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । उनका अनुसार घटनास्थलमा थप ६ वटा शव फेला परेको छ ।

थापाका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जना धुलिखेल अस्पतालमा उपचारका क्रममा छन् ।
उक्त दुर्घटनामा ज्यान गुमाउनेमध्य सात मृतकको पहिचान खुलेको छ । लिखु गाउँपालिका– ४ बिजुलीकोटका २९ वर्षीय बबी तामाङ, ३० वर्षिय दिपेश बस्नेत र २५ वर्षीय दिपेन्द्र बस्नेत, लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङका ३५ वर्षीया सानुमाया तामाङ, सोही वडाकी २१ वर्षीया तारा तामाङको पहिचान खुलेको हो । त्यस्तै, दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ, गोलञ्जोर गाउँपालिका–६ का २४ वर्षीय शिव श्रेष्ठको पनि दुर्घटनामा मृत्यु भएको पुष्टि गरिएको छ।
बसमा कति यात्रु थिए भन्ने खुलेको छैन।सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ । मृतको पहिचान खुल्न बाँकि छ ।सडकबाट खसेको बस नदीमा डुबेको थियो । बस नदीबाट निकालिएको छ।




