काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर र प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । यस पहलको उद्देश्य क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्नु, आम भ्रम हटाउनु, समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे कर्मचारीहरूलाई सचेत बनाउनु रहेको बैंकले जनाएको छ।
कार्यक्रम मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव, भारतसँगको सहकार्यमा सञ्चालन गरिएको थियो, जसले यसलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको छ । कार्यक्रम अन्तर्गत माघ १३ गते सबै महिला कर्मचारीका लागि ‘स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू’ विषयक वेबिनार आयोजना गरिएको थियो । वरिष्ठ निर्देशक स्तन क्यान्सर, डा. कञ्चन कौरले वेबिनार सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रममा कुल ५१३ जना महिला कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए । जसले वेबिनार अन्तरक्रियात्मक र प्रभावकारी बनाएको बैंकको भनाइ छ । माघ १४ गते ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीहरूका लागि ‘प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ’ विषयक सत्र सञ्चालन गरिएको थियो । वरिष्ठ निर्देशक डा. पुनीत आहुलवालियाले उक्त सत्रको सहजीकरण गरेका थिए । यसमा कुल ५ सय ९ जना कर्मचारीहरूले सहभागिता जनाएका थिए ।
दुवै वेबिनारले कर्मचारीहरूको स्वास्थ्यप्रति सचेतना बढाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने अपेक्षा बैंकले गरेको छ । बैंकले कर्मचारी, ग्राहक र अन्य सम्बन्धित निकायहरूका लागि आगामी दिनमा पनि यस्तै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । बैंकका कार्डवाहक ग्राहक महानुभावहरूले मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसअघि पनि ‘फोनपे क्रेडिट कार्ड’ सञ्चालन, नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ एकीकृत अनलाइन प्लेटफर्म, फ्रिलान्सर सेविङ्ज अकाउन्ट, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी.आर.एन् नम्बर सुविधा, र क्रस बैंक टेलर सुविधा जस्ता नवप्रवर्तनात्मक सेवाहरू सुरु गरिसकेको वताएकाे छ।




