काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३८ औं वार्षिक साधारण सभा ३० गतेका दिन कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।
सभामा अध्यक्षले समिक्षा वर्ष २०८१\ ८२ मा विविध चुनौतिको वावजुद विश्व अर्थतन्त्र लचिलो स्थितिमा नै रहेको र कोभिड महामारी एवं भुराजनैतिक कारणले बढेको विश्व मु्द्रा स्थिति अहिले आएर घट्ने क्रममा रहेको कारणले विश्वका अधिकांश केन्द्रीय बैंकहरुले लचिलो मौद्रिक नीति अवलम्बन गरेको बताइन् । नेपालको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान अनुसार आर्थिक वर्ष २०८१ \८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहेको अनुमान भएतापनि आ.व. २०८२ \८३ मा बढ्दो राजनैतिक एंव सामाजिक अनिश्चिन्तताको कारणले वृद्धिदरमा संकुचनमा जान सक्ने आकलन गरिएको छ ।
आ.व.२०८१ \८२ मा कम्पनीको ब्यवसाय सन्तोषनजनक रहेको छ । कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले बृद्धि भई रु.२,२५९.३७ करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा रु.१,४९८.५९ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.९,४५८.७७ करोड पुगेको छ । यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दावी, सर्मपण मूल्य, दावी एंव अन्य दावी भुक्तानीमा रु. ९४८.६५ करोड दावी भुक्तानी गरेको छ ।
कम्पनीले आफ्ना सबै लगानी योग्य रकमहरु श्री नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्र भित्र रहेर पारदर्शीता एवं प्रतिफलको हिसाबले अधिकतम दीर्घकालिन लगानीका औजारहरुमा लगानी गर्दै आएको र यसबाट बीमितहरुको अधिकतम् हित संरक्षण हुनेमा कम्पनी विश्वस्त रहेको छ । कम्पनीको कूल लगानी समिक्षा वर्षमा ११.०४ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.७,७९०.२० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०८१÷०८२ मा सो दर ८.७६ प्रतिशत कायम रहेको छ ।




