हायात प्लेस बुटवलद्वारा ‘न्यू इयर्स इभ अन्डर द स्टार्स’ भव्य रूपमा सम्पन्न

बुटवल । हायात प्लेस बुटवलले आफ्नो बहुप्रतीक्षित कार्यक्रम “न्यू इयर्स इभ अन्डर द स्टार्स” को भव्य आयोजनासँगै नयाँ वर्ष २०२६ लाई उत्साहपूर्वक स्वागत गरेको छ। २०२६ को पूर्वसन्ध्यामा साँझ ७ बजेदेखि सुरु भएको यस खुला आकाशमुनिको उत्सवले होटलको स्विमिङ पुल परिसरलाई क्षेत्रकै प्रमुख पार्टी गन्तव्यमा परिणत गर्‍यो, जहाँ पाहुनाहरूले उत्कृष्ट आतिथ्य, ऊर्जाशील सांगीतिक माहोल र स्वादिष्ट परिकारहरूको भरपूर आनन्द लिएका थिए ।

नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका पाहुनाहरूको उल्लेखनीय उपस्थितिसहित सम्पन्न उक्त कार्यक्रम आयोजकको प्रतिज्ञाअनुसार पूर्ण रूपमा ‘आउटडोर’ अनुभवमा आधारित थियो। जाडोयामको खुला आकाश र वरपरका पहाडहरूको मनमोहक दृश्यबीच रंगीन बत्तीहरूले सजाइएको कार्यक्रमस्थलले सन् २०२५ लाई बिदाइ गर्ने अवसरलाई झनै जादुमय बनाएको थियो।

कार्यक्रमको सञ्चालन मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०२५, प्राप्ति रानाभट ले गरेकी थिइन्। उनको आकर्षक प्रस्तुति र ऊर्जा रातभर कार्यक्रमको माहोल जमाइरह्यो। मनोरञ्जनका लागि विभिन्न कलाकारहरूको प्रस्तुति समावेश गरिएको थियो। साँझको सुरुवात ‘राग एण्ड रिदम’ ब्यान्डको सुमधुर लाइभ संगीतबाट भयो भने डिनर समयलाई थप रोमान्टिक बनाउन स्याक्सोफोनको विशेष प्रस्तुति रहेको थियो।

रात छिपिँदै जाँदा बेली डान्सको मनमोहक प्रस्तुतिले कार्यक्रमलाई थप ऊर्जाशील बनायो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा एमटिभी स्प्लिट्सभिलाबाट ख्याति कमाएकी चर्चित सेलिब्रेटी डीजे सुबुही जोशी ले स्टेज सम्हालिन्। उनले बलिउड र कमर्सियल हिट गीतहरूको ‘इलेक्ट्रिफाइङ मिक्स’ प्रस्तुत गर्दै पाहुनाहरूलाई डान्स फ्लोरमा नचाएकी थिइन् ।

पाहुनाहरूले लाइभ बँदेल बार्बेक्युसहितको भव्य बफे डिनर तथा अनलिमिटेड प्रिमियम मदिरा र पेय पदार्थको स्वाद लिएका थिए।

कार्यक्रमको उत्कर्ष मध्यरातको काउन्टडाउनसँगै आयो। घडीले १२ बज्नासाथ स्विमिङ पुल परिसर हुटिङ र उत्साहले गुञ्जायमान भयो र आतिशी स्वागतका साथ औपचारिक रूपमा सन् २०२६ लाई स्वागत गरियो।

कार्यक्रमको सफलताबारे प्रतिक्रिया दिँदै हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगर ले भने , “‘न्यू इयर्स इभ अन्डर द स्टार्स’ कार्यक्रममा पाहुनाहरूको यस्तो उत्साहजनक सहभागिता देख्दा हामी अत्यन्तै हर्षित छौँ। सबैजना एकै ठाउँमा भेला भएर खुसी साटासाट गरेको दृश्य साँच्चिकै मनमोहक थियो। खुला आकाशमुनि संगीत, खानपान र बुटवलको सुन्दर दृश्यसँग जोडिएको यो नयाँ अनुभवले पाहुनाहरूलाई नयाँ वर्षको सुरुवातमा अविस्मरणीय सम्झना दिएको छ भन्ने हाम्रो विश्वास छ।”

हायात प्लेस बुटवलले पश्चिम नेपालको हस्पिटालिटी र लाइफस्टाइल कार्यक्रमहरूमा निरन्तर नयाँ आयाम थप्दै आएको छ। “न्यू इयर्स इभ अन्डर द स्टार्स” को सफल आयोजनाले विश्वस्तरीय अनुभव प्रदान गर्ने होटलको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री