नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

काठमाडाैं। नेपालको  विश्वसनीय जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सम्मानित गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा बसन्तपुरमा सम्पन्न नेपाल प्रहरी सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “हाम्रो प्रहरी” कार्यक्रममा, दरबारमार्गस्थित प्रहरी कार्यालयको पुनःसंभार तथा पुनःस्थापनामा गरेको सहयोगको कदरस्वरूप कम्पनीलाई सम्मान पत्र प्रदान गरिएको हो।

कार्यक्रम नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीबाट सम्मान पत्र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा ग्रहण गरेका थिए ।

दरबारमार्गस्थित प्रहरी कार्यालय निर्माणार्थ कम्पनीले रु. १७ लाख सहयोग प्रदान गरेको थियो। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिक सुरक्षा, सामाजिक सद्भाव र अमन चयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम नागरिकमा स्थापित गराउन तथा प्रहरी कार्यालयको पुनःस्थापनामा कम्पनीले पुर्‍याएको योगदानको उच्च मूल्यांकनस्वरूप सम्मान पत्र प्रदान गरिएको हो।

यसअघि पनि कम्पनीले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. १ करोड ५० लाख सहयोग प्रदान गरेको थियो। साथै, काठमाडौंको बसपार्कस्थित प्रहरी कार्यालयको खानेपानी तथा शौचालय निर्माणार्थ रु. ६० हजार तथा जिल्ला प्रहरी कार्यालय कास्कीलाई कार्यसम्पादनलाई चुस्त, दुरुस्त र प्रविधिमैत्री बनाउनका लागि पाँच थान कम्प्युटर प्रदान गरिएको थियो।

गत भदौ २३ र २४ गते भएको जेनेसी प्रदर्शन तथा आन्दोलनका क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यका लागि नेपाल लाइफले विभिन्न कार्यक्रमहरू आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको छ। आगामी दिनहरूमा पनि आर्थिक, सामाजिक तथा भौतिक रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरूमा सहयोग गर्न कम्पनी तत्पर रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री