काठमाडौं । हिजो काठमाडौंमा बालेंद्र शाह (बालेन), कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भएको राजनीतिक सहमतिको क्रममा युवा नेता किरण बिकले दलित समुदायको हकअधिकार र सामाजिक न्यायप्रति नेताहरूको स्पष्ट धारणा माग्दै प्रत्यक्ष प्रश्न उठाएका छन्।
सहमति स्थलमा करिब दुई घण्टा बिताएका किरण बिकले बालेन्द्र शाह, कुलमान घिसिङ र रवि लामिछानेसँग छुट्टाछुट्टै संवाद गरेका थिए। वार्ता सम्पन्न भएपछि आयोजित संयुक्त अन्तरक्रियामा उनले “दलितको हक र सामाजिक न्यायलाई तपाईंहरूले कसरी लिनु हुन्छ ?” भन्ने प्रश्न राखेका थिए।
किरण बिकको प्रश्नको जवाफमा तीनै नेताले दलित हक र सामाजिक न्यायप्रति आफूहरू सकारात्मक र प्रतिबद्ध रहेको बताएका थिए। विशेषगरी रास्वपाका सभापति रवि लामिछानेले समावेशी राजनीति, सामाजिक न्याय र उत्पीडित समुदायको अधिकारलाई आफ्नो राजनीतिक प्राथमिकतामा राख्ने स्पष्ट पारेका थिए।
उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच भएको राजनीतिक सहमतिसँगै कुलमान घिसिङ र बालेंद्र शाहको पार्टी प्रवेशले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ। सो घटनाक्रमलाई युवा पुस्ताको चासो र दलित अधिकारको मुद्दा थप मुखर बन्ने संकेतका रूपमा हेरिएको छ।




