काठमाडौं । पत्रकार दीपेन्द्र शर्माले लेखेकाे ‘युद्ध पत्रकारिता’ पुस्तक आैपचारिक रूपमा विमोचन गरिएको छ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गरे। विमोचन कार्यक्रममा अध्यक्ष दाहालले पुस्तकलाई ‘युद्धको ऐना’ र ‘ऐतिहासिक दस्तावेज’ भन्दै प्रशंसा गरे। उहाँले जनयुद्धकालमा पत्रकारिता गर्नु ‘फलामको चिउरा चपाउनु’ सरह भएको र यो पुस्तकले त्यो कालखण्डलाई जीवन्त बनाएको बताए।
शर्माले जाजरकोटमा बिताएका दिन सम्झँदै भने, ‘लडाइँ र पढाइको फ्युजन, बारुद र मसीको घोल थियो। त्यही जगमा गणतन्त्र आयो, मलाई गर्व लाग्छ।’ नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले पुस्तकलाई युद्धकालीन पत्रकारिताको जोखिम र चुनौतीको सत्य दस्तावेज भन्नुभएको छ।
प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहालले यसलाई नेपालको महत्त्वपूर्ण ऐतिहासिक कृति बनेका छन्। १४ वर्षको उमेरदेखि जनयुद्धमा जोडिनुभएका लेखक शर्माले सात अध्यायमा मिसन पत्रकारिता, भूमिगत सञ्चार, वैचारिक सङ्घर्ष र जनयुद्धका गतिविधिलाई समेटेका छन्।




