काठमाडाै । शिखर इन्स्योरेन्स ‘साफा’ (एशियाली लेखापरीक्षण महासंघ) ले प्रदान गर्ने उत्कृष्ट बार्षिक प्रतिवेदन सम्मान (अवार्ड) प्राप्त गर्ने पहिलो नेपाली बीमा कम्पनी बन्न सफल भएको छ । कम्पनीले साफाको मेरिट प्रमाणपत्र पाउने पहिले नेपाली बीमा कम्पनी बनेको जानकारी दिएको छ । यो उपलब्धी शिखर इन्स्योरेन्सका लागि मात्र नभई, सम्पूर्ण नेपाली बीमा उद्योगका लागि पनि एउटा उल्लेखनीय कोषेढुंगा भएको कम्पनीले वताएकाे छ ।
साफाले प्रदान गर्ने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जबाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये मानिन्छ । यो सम्मानले कम्पनीले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन, वित्तीय अनुशासन, तथा हित धारकसँगको स्पष्ट र पारदर्शी सञ्चारप्रतिको निरन्तर प्रतिबद्धतालाई अझ प्रस्ट रूपमा पुष्टि गर्ने शिखरको भनाई छ । कम्पनीले प्रक्रिया सुधार गर्ने, प्रतिवेदनको गुणस्तर उन्नत बनाउने तथा सर्वसाधारणका लागि उपलब्ध गराइने वित्तीय सूचनालाई अझ विश्वसनीय र व्यवस्थित बनाउने दिशामा गर्दै आएको प्रयासको यो महत्वपूर्ण प्रमाण हो भन्दै उसले यो मान्यताले भविष्यमा अझ उच्चस्तरको सुशासन, वित्तीय पारदर्शिता, र उत्तम प्रतिवेदन प्रणालीलाई विस्तार गर्न थप प्रेरणा प्रदान गर्ने बताएको छ । यसले समग्र नेपाली बीमा क्षेत्र तथा देशको कर्पोरेट समुदायमा सकारात्मक योगदान पुर्याउने शिखर इन्स्योरेन्सले बताएको छ ।




