पाेखरा । देशमा उत्पन्न हालको विषम परिस्थितिका क्रममा भएका जिउधनका क्षतिमा महालक्ष्मी विकास बैंकले गहिरो दुःख प्रकट गरेको छ। बैंकले आइतबार विज्ञप्ति जारी गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गरेको छ। साथै उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विज्ञप्तिमा आन्दोलनका क्रममा सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिप्रति समेत गहिरो दुःख व्यक्त गरिएको छ। बैंकले नवगठित सरकार गठन प्रक्रिया चाँडै टुंगिने र त्यसले असामान्य अवस्थालाई शीघ्र सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायित्व र सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास लिएको छ।
यसबीचमा बैंकको लेकसाइड पोखरा शाखा भवन पूर्णरूपमा क्षतिग्रस्त भएको जनाएको छ। तर उक्त शाखाबाट प्रवाह हुने सम्पूर्ण बैंकिङ सेवा नजिकैका शाखा कार्यालयमार्फत सहज रूपमा उपलब्ध हुने व्यवस्था गरिएको छ। बैंकले लेकसाइड पोखरा शाखाबाहेक अन्य सम्पूर्ण १०२ शाखा कार्यालय पूर्ण रूपमा सञ्चालनमा रहेको र सबै डिजिटल बैंकिङ सेवाहरू सुरक्षित रूपमा निरन्तर उपलब्ध रहेको जानकारी दिएको छ।




