पूर्वप्रधानमन्त्री चन्दको अपिल: राष्ट्रिय एकताका लागि साझा बिन्दु खोजौं

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुलुकलाई राजनीतिक अस्थिरता र निराशाबाट जोगाउन सबै पक्षले मिलनको साझा बिन्दु खोज्नुपर्ने बताएका छन् । उनले राजसंस्था, राजनीतिक दलहरू र जनतालाई एकताबद्ध गर्ने उपाय पहिल्याउनु अपरिहार्य रहेको बताएका हुन् ।

प्रेस वक्तव्य जारी गर्दै चन्दले सरकार, संसद, न्यायपालिका तथा राज्यका अन्य निकायप्रति जनविश्वास खस्कँदै गएको उल्लेख गर्दै देश निषेधको राजनीतिबाट अगाडि बढ्न नसक्ने बताए । ‘राष्ट्रिय सहमति, सहकार्य र एकता नै वर्तमान संकटको समाधान हो,’ उनले भने ।

चन्दले माओवादी द्वन्द्व र ०६२/०६३ को जनआन्दोलनपछि देशले राजनीतिक अस्थिरता, भ्रष्टाचार, कानूनविहीनता र उत्तरदायित्वहीनताको सामना गरिरहेको दाबी गरे ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समन्वय समितिको आह्वानमा चैत १५ गते काठमाडौंमा भएको शान्तिपूर्ण विरोधसभाका क्रममा हिंसात्मक घटना भएकोप्रति चन्दले दुःख व्यक्त गरेका छन् । उनले उक्त घटनाको निष्पक्ष छानबिनका लागि उच्च स्तरीय न्यायिक आयोग गठन गर्न माग गरेका छन् । ‘यदि विरोधसभामा नियोजित हत्या, आगजनी र लुटपाटका घटना भएका हुन् भने, त्यो गम्भीर विषय हो। यस्तो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले भने ।

चन्दले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, उनीहरूको उचित उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

पूर्वप्रधानमन्त्री चन्दले संयुक्त जनआन्दोलन समन्वय समितिका संयोजक नवराज सुवेदी, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतका पक्राउ परेका नेताहरूलाई विनाशर्त रिहा गर्न माग गरेका छन् । उनले देशलाई स्थायित्व र समृद्धिको मार्गमा लैजान राजनीतिक पूर्वाग्रह त्यागी, सबै पक्ष मिलेर साझा सहमतिको बाटो अवलम्बन गर्नुपर्ने बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप