नेपाली यू–१९ टोली विजयी

आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रका लागि भारतमा तयारी गरिरहेको नेपालले पहिलो अभ्यास खेलमा सफलता पाएको छ । दिल्लीको ग्रेटर नोएडामा मंगलबार भएको खेलमा नेपाली यू–१९ ले फ्रेन्ड्स स्पोर्ट्स एकेडेमीलाई १ सय २१ रनले पराजित गरेको छ ।

भिजेको मैदानका कारण ४० ओभरमा छोटयाइएको खेलमा नेपाली यू–१९ ले ७ विकेट गुमाई २ सय ५० रन बनायो । फ्रेन्ड्स स्पोर्ट्स ३२ ओभरभित्र १ सय २९ रनमै अलआउट भयो । अभ्यास खेलमा १४ खेलाडीलाई मैदानमा उतार्न पाउने र ११ जनालाई बलिङ गराउन पाउने नियमअनुसार खेलिएको नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले जनाएका छन् ।

नेपालबाट शाह आलमले ५ ओभरमा २ मेडन राख्दै १३ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछाने र रोहित पौडेलले २–२ तथा किशोर महतो, रिजन ढकाल र ललितनारायण राजवंशीले १–१ विकेट लिए ।

फ्रेन्ड्स स्पोर्ट्सका सोनु गुजारले ३७ र बबी यादवले २४ रन बनाएका थिए । यसअघि माथिल्लो तीन ब्याट्सम्यान आसिफ शेख (०), सन्दीप सुनार (१०) र आदिल खान (१३) लाई सुरुआतमै गुमाएको नेपाली यू–१९ को इनिङ्सलाई प्रनित थापा, दीपेन्द्रसिंह ऐरी र अनिल शाहले उकासेका थिए । प्रनित र दीपेन्द्रले चौथो विकेटमा १ सय ६ रनको साझेदारी गरे । दीपेन्द्रले ५० बल खेली २ चौका र २ छक्का प्रहार गरी ४३ रन बनाए ।

प्रनितले त्यसपछि अनिलसँग पाँचौं विकेटमा ७५ रन जोडे । ८१ बलको इनिङ्समा प्रनितले ७ चौका र ३ छक्का प्रहार गरी ८७ रन बनाए । उनी ३७ औं ओभरमा आउट भएका थिए । अनिलले ३४ बल खेली २ चौका र ३ छक्का प्रहार गरी ५० रन बनाए । प्रकाश केसी ९ रनमा आउट भए । रोहितले ७ बलमा २ चौका र २ छक्का प्रहार गरी नटआउट २४ रन बनाए । फ्रेन्ड्सका सोनु गुज्जारले ३ र कनिसिक भाटीले २ विकेट लिए ।

कान्तिपुरबाट

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस