रवि लामिछानेका उम्मेदवारलाई निर्वाचन आयोगकाे २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं. ६ का उम्मेदवार शिशिर खनाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । खनालले आफूलाई घन्टी निर्वाचन चिन्हबाट स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत् प्रचारप्रसार गरेकाले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको हो ।

साे घन्टी निर्वाचन चिन्ह राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने गरी कार्यबाट जानाजान प्रचलित निर्वाचन कानूनको उल्लंघनसमेत भएको पाइएकाले स्पष्टीकरण सोधिएको आयोगले वताएकाे छ ।

आयोगले खनाललाई ‘आफ्नो दलीय आवद्धतालाई स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह घन्टी स्वतन्त्र अभियानको रहेको भनी प्रचारप्रसार गर्ने कार्यले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुँदैन भन्ने आधार कारण के छ ? तपाईंको दल राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार भई गोलाकारभित्र घन्टी निर्वाचन चिन्हअन्तर्गत निर्वाचन लड्नुभएको हुँदा तपाईंले आफू स्वतन्त्र उम्मेदवारको भनी प्रचारप्रसार गरेको कार्यले तपाईं दलको उम्मेदवार हो वा स्वतन्त्र उम्मेदवार हो भन्ने बारेमा ठाडो भ्रम सिर्जना गरेको देखिएकाले तपाईंले स्वतन्त्र उम्मदेवारको आवरण प्रयोग गरी निर्वाचनको सम्मुखमा झुठपूर्ण तथा भ्रमपूर्ण कार्य गरेको होइन भनी पुष्ट्याईँ गर्ने आधार र कारण के छ ? तपाईंबाट उक्त कार्य भएको अवस्थामा निर्वाचन आचारसंहिताको उलघंन हुने भएकाले तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना किन गर्नु नपर्ने हो ? पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत स्पष्टीकरण पेस गर्नुहोला । भनी स्पष्टीकरण सोधिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री