हिन्दु संस्कृति अनुसार यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइने गरिन्छ । तीज पर्व नेपालमा मात्र नभएर भारतका बिभिन्न स्थानहरूमा पनि मनाइन्छ ।
महिलाको पर्व भनेर परम्परादेखि मनाउँदै आएको तीज पर्वको आफ्नै मौलिकता रहेको छ । तिजको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व रहेको छ । यो चाडमा माइतीले छोरी चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठा ,मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने,बस्ने चलन छ ।
यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ । दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन छ । तिजमा खास गरी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् ।
यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्नुको साथै नाचगान मनोरञ्जन समेत गर्ने गर्दछन् । बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । धार्मिक मान्यता अनुसार शिवको आराधना, पूजा, व्रत गर्नाले मृत्युमाथि पनि विजय प्राप्त गर्न सकिने र महिलाहरु सौभाग्यवती हुने विश्वास रहेको छ ।
तिजको दिन देशभरका शिवालयहरुमा माहिलाहरुको भिड लागेको हुन्छ । त्यसै गरी, तिजमा काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुहरुको ठूलो भन्दा ठूलो भीड देख्न सकिन्छ । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ ।
यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् ।
यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ । हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् ।
पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् ।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो ।
सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
प्रायः गरी यो दिन शौभाग्य सूचकका सामाग्री प्रयोग गरे पनि कुत्रिम सुन्दरताको सामाग्री भने प्रयोग गर्ने गरेको पाइन्न । यसै दिन बिहान जिउमा माटो लगाई नुहाउने, ३६५ चोटी दत्तिवनले दाँत माझ्ने, स्नानस्थलमा पनि दतिवन लगी त्यसैले पानी छ्याप्ने, धूप बाली बास्ना लिने समेत गरेको पाइन्छ ।



