काठमाडौं ।सरकारले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ ।सोही निर्देशन बमोजिम उनले राजीनामा दिन लागेका हुन् । उनले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ ।
मन्त्री तामाङले चाबहिलस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीमा एसईई उत्तीर्णलाई गरिएको सम्मान कार्यक्रममा बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली छात्राहरुले आफ्नो अस्मिता नबेची प्रमाणपत्र नपाउने गरेको बताएपछि उनको सर्वत्र आलोचना भएको थियो । आलोचना पछि मन्त्रीले विज्ञप्ति निकालेर माफी मागेका थिए ।
डा. गोविन्द केसीको अनसनलाई लिएर सरकारको आलोचना भइरहेका बेला कानुनमन्त्रीको अभिव्यक्ति पनि थपिएपछि नेकपाका नेताहरुले सोमबार साँझ छलफल गरेका थिए ।
बालुवाटारमा राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएका हुन् ।




