मानिसको शरीरलाई छालाले छोप्ने गर्छ । सबैभन्दा पहिले छाला देखिने भएकाले पनि छालाको उचित स्याहार गर्नु आवश्यक हुन्छ ।
छाला चम्किलो र सुन्दर हुनेहरु बुढेसकालसम्म पनि जवान नै देखिन्छन् । तथापि सबै को छाला स्वस्थ हुँदैन । सबैको विभिन्न कारणले गर्दा छालाको स्याहार तथा सम्भार गर्न सक्ने अवस्था हुँदैन ।
छालाको उचित स्याहार तथा सम्भार गर्न नसक्दा मानिसहरु समयभन्दा पहिले नै बुढो देखिन्छन् । छाला बाहिरै देखिने भएकाले घाम, वातावरणीय प्रदूषण, फोहोर आदिले यसलाई असर पारिरहेको हुन्छ ।
यसका साथै काममा व्यस्त हुनु, खाना समयमा नखानु, निन्द्रा कम लाग्नु, पानी कम पिउनु जस्ता कारणबाट छाला फुस्रो हुने समस्या हुन्छ । छालालाई ताजा, चम्किलो, सफा स्वस्थ बनाउनको विभिन्न उपायहरु अपनाउन सकिन्छ । छालालाई सुन्दर राख्ने विभिन्न उपायहरु हुन्छन् । केहिलाई यहाँ प्रस्तुत गरिएको छ ।
सन्तुलित भोजन
छालालाई सुन्दर तथा स्वस्थ राख्न सन्तुलित खाना नै सबैभन्दा जरुरी हुन्छ । सन्तुलित खानाको प्रयोगले शरीर स्वस्थ हुन्छ । छाला चम्किलो र सुन्दर हुन्छ । शरीरका कोषहरुमा बुढ्यौली हुने प्रक्रिया पनि ढिलो नै सुरु हुन्छ । छाला सुन्दर राख्ने हो भने कार्बोहाइड्रेडयुक्त खाना कम मात्रामा खानुपर्छ । त्यस्तै जंक फूड खानाले पनि छालामा नकारात्मक असर पर्छ । खानामा आवश्यक पौष्टिक तत्वको कमी भयो भने छालामा तत्कालै नराम्रो असर पर्नथाल्छ । स्वस्थ र सुन्दर छालाका लागि सन्तुलित खाना खाने, प्रशस्त पानी पिउने, फलफूल खाने, हरियो तरकारी धेरै खाने तथा भिटामिन र खनिज भएका तत्वहरु पनि खानुपर्छ । यसो गरे छाला स्वस्थ र चम्किलो हुन्छ ।
पानी प्रशस्तै पिउने
पानी हाम्रो शरीरलाई नभई हुँदैन । पानी बिना मानव जीवन सम्भव छैन । आवश्यक मात्रामा पानी पिउनाले स्वास्थ्यलाई धेरै नै फाइदा पुग्छ । हाम्रो शरीरमा जम्मा भएका विषादीयुक्त तत्वहरु बाहिर निकाल्न पानीको ठूलो भूमिका रहेको हुन्छ । चिकित्सकका अनुसार दिनहुँ कम्तीमा ४ लिटर पानी पिउनु जरुरी हुन्छ । यसले छालालाई चम्किलो र स्वस्थ बनाउँछ ।
मानसिक तनाव
तनावलाई गुडबाई आजभोली मानिसको दैनिक जीवन धेरैनै तनावले भरिएको हुन्छ । हरेकदिनको व्यस्तताले मानसिक तनाव दिनदिनै बढ्दैछ । मानसिक तनावभयो भने यसको असर तत्कालै छालामा देखापर्ने हुन्छ । मानसिक तनावका कारण केशलाई पनि धेरै हानि गर्छ । काम जरुरी छ भने यसका साथै आरामको पनि उत्तिकै जरुरी हुन्छ । स्वस्थ जीवनशैली भयो भने हाम्रो छाला पनि स्वस्थ हुन्छ ।
दैनिक पैदल हिँड्नु, योग गर्नु, केही समय ध्यानमा बस्नेलगायतका राम्रा बानीले मानसिक तनाव कम गर्न सहयोग पुग्छ । यस्तो कार्यबाट छालामा सकारात्मक परिवर्तन हुन्छ । सँधै तनावरहित वातावरणको सिर्जना गर्न सके छाला सुन्दर हुनुकासाथै वाहिरी सुन्दरता पनि बढ्छ ।
अनिदो नबस्ने हामीलाई चाहिने मात्रामा निन्द्रा पुगेन भने स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ ।
आँखामुनि डार्कसर्कल देखापर्न थाल्छ । अनुहारको छाला मृत हुन्छ । छाला फुस्रो हुनुका साथै चमक हराएर जान्छ । थाकेको महसुस हुन्छ । त्यसैले स्वस्थ छालाका लागि निन्द्रा आवश्यक छ । दैनिक ८ घण्टा सुत्दा स्वास्थ्यमा स्फुर्ती आउँछ ।
व्यायाम
व्यायाम हामीेले नियमित व्यायाम गर्न सके छाला स्वस्थ बनाउन सहयोग गर्दछ । यदि स्वस्थ छाला छ भने स्वास्थ्य पनि राम्रो हुन्छ । व्यायामका कारण रक्तसञ्चारमा राम्रो प्रभाव हुन्छ । हरेक दिन १५ मिनेटमात्रै भएपनि व्यायाम गर्दा पसिना आउँछ । यसरी पसिना आउँदा शरीर स्वस्थ हुन्छ ।



