काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नेपालका एक चिकित्सकमासमेत देखिएको छ।
ललितपुर घर भएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुमा कार्यरत चिकित्सकको पीसीआर रिापेर्टमा मंगलबार कोरोना पोजिटिभ देखिएको हो।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले ललितपुरमा एक जनामा कोरोना पोजिटिभ पुष्टि भएको जानकारी दिएका थिए। ति चिकित्सक रोग नियन्त्रण महाशाखाको फिल्डमा कार्यरत रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
स्वास्थ कार्यलयका प्रमुख खगेश्वर गेलालका अनुसार उनी रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत चिकित्सक हुन्।
‘उहाँ चिकित्सक भएको खुलेको छ’, गेलालले भने, ‘२६ वर्षीय डाक्टर बाहिर जिल्लाको हुनुहुन्छ तर ललितपुर ठेगाना मात्रै लेखिएको छ। उहाँको बारेमा थप जानकारी लिदैछौँ।’
चिकित्सकलाई कोरोना पोजिटिभ देखियो भनेर नआत्तिन उनले आग्रह गरेका छन्।
स्वास्थ कार्यालयले ललितपुरका ५ वटा पालिकामा ८ सयको कोरोना परीक्षण गरेको र ३ सयको रिपोर्ट नेगेटिभ आएको छ। नमुना परीक्षण गरिएकामध्ये पाँच सयको पीसीआर रिपोर्ट आउन बाँकी छ।
मंगलबार ति चिकित्सकसहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नयाँ संक्रमित १७ वर्षदेखि ४२ वर्ष उमेर समूहका भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्।
अन्नपूर्णबाट




