प्रतिकूल मौसमका कारण अझै तीन राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । देशका विभिन्न राजमार्ग लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै तीन प्रमुख सडकखण्ड अझै पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।

प्रहरीका अनुसार इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध छ। उक्त क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न सकिने व्यवस्था रहेको छ। यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलास्थित सालझण्डी–ढोरपाटन सडक खण्ड माथिबाट ढुङ्गा खसेपछि पूर्ण रूपमा बन्द रहेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जानकारी दिएकाे छ ।

शुक्रबार बिहान ६ः२० बजेदेखि यसअघि पहिरोका कारण अवरुद्ध भएको मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ भने पूर्ण रूपमा सञ्चालनमा आएको छ । यस्तै, वर्षायामलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था कायम रहेको छ।

त्यस्तै, प्रहरीले मकवानपुरको कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ। नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकाय वा ट्राफिक प्रहरीसँग सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री