काठमाडौं । नवीकरणीय ऊर्जा तथा जलविद्युत् आयोजनामा दीर्घकालीन लगानी परिचालन गर्न पूँजी बजारमार्फत नयाँ वित्तीय साधनहरू विकास गर्ने नीति सरकारले अघि सारेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३\८४ को पुँजी बजार नीति तथा कार्यक्रमअनुसार जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा आवश्यक लगानी जुटाउन ‘ग्रीन बण्ड’ (हरित ऋणपत्र) लगायत वातावरणमैत्री वित्तीय साधनहरूको विकास गरिने उल्लेख गरिएको छ ।
जलविद्युत् आयोजना निर्माणका लागि नीतिअनुसार आवश्यक पूँजी पूँजी बजारमार्फत परिचालन गर्ने व्यवस्था सुदृढ बनाइनेछ । यसबाट स्वच्छ ऊर्जा परियोजनामा दीर्घकालीन वित्तीय स्रोत जुटाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ । यस्तै, लगानीकर्तालाई लगानीको विविधीकरण गर्ने अवसर प्रदान गर्दै जलविद्युत् क्षेत्रमा सामूहिक लगानी आकर्षित गर्न एक्सचेन्ज ट्रेडेड फण्ड (ईटीएफ) सञ्चालनमा ल्याउने योजना पनि नीतिमा समावेश गरिएको छ ।
सेबोनको विश्वास छ कि ग्रीन बण्ड, ईटीएफ लगायतका आधुनिक वित्तीय उपकरण कार्यान्वयनमा आएपछि जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा संस्थागत तथा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्ने, पूँजी परिचालन सहज हुने र दिगो ऊर्जा विकासमा टेवा पुग्नेछ ।



