काठमाडौं । दुई जना सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने व्यक्ती पक्राउ परेका छन् । शुक्रबार सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत गुहाटी मदनपुर आसाम बस्ने २६ वर्षीय जावरूल हक र काठमाडौं बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका—६ घर भएका २४ वर्षीय सरोज कार्की रहेका छन् । साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
जावरूलले पीडित महिलाको अश्लील भिडियोरतस्विर दुरूपयोग गरी ब्ल्याकमेल गर्नुका साथै दुःख हैरानी दिई अनुचित लाभका लागि बारम्बार दबाब दिएको र आफ्नो अभीष्ट पुरा नभए पश्चात् उक्त अश्लील भिडियो रतस्विर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरी चरित्र हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
सरोजले अध्ययनको सिलसिलामा चिनजान भई साथी बनी प्रेम सम्बन्धमा समेत रहेको र सम्बन्ध छुटेपश्चात बारम्बार चरित्र हत्या गर्ने उद्देश्यले फेसबुक मार्फत अश्लील सामग्रीहरू पोष्ट गरी पीडितलाई दुःख हैरानी, मानसिक तनाव दिने कार्य गरेको खुल्न आएको छ । उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



