काठमाडौं । आगामी मंसिर ४ गतेदेखि व्यावसायिक रूपमा सफल सिनेमा ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’ देशभर प्रदर्शन हुने भएको छ। असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै सिनेमाका दुई फरक शैलीका पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएका पोस्टरमा सिनेमाका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई केन्द्रमा राखिएको छ। दुई पोस्टरले एउटै प्रेमकथाका फरक–फरक भाव र मनोविज्ञान प्रस्तुत गरेका छन्। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन्। पहिलो पोस्टरमा सोनम र उपासनाबीचको प्रेम, आत्मीयता र खुसीका क्षणलाई देखाइएको छ। उनीहरूबीचको विश्वास र सम्बन्धलाई उजागर गर्ने गरी तयार गरिएको पोस्टरले सिनेमाको रोमान्टिक पक्षलाई संकेत गर्छ। दोस्रो पोस्टर भने भावनात्मक र गम्भीर छ। यसमा दुवै पात्र मौन, संवेदनशील र पीडायुक्त मुद्रामा देखिएका छन्। पोस्टरले कथामा आउने उतारचढाव, बिछोड र भावनात्मक संघर्षको झल्को दिन्छ।
निर्देशक अशोक थापा मगरका अनुसार ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो। यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, जीवनशैली र भावनालाई सिनेमाको कथामा प्रस्तुत गरिएको उनले बताएका छन्।



