काठमाडौं महानगरपालिका डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै

काठमाडौं ।यस वर्षको बर्खा याम प्रारम्भसँगै डेङ्गी नियन्त्रणका लागि  काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले तालिम प्राप्त १६ सय ५० जना जनशक्ति परिचालन गर्ने भएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्यकर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार पारिएको छ ।

यो क्षमता विकासपछि केन्द्रका इञ्चार्ज र स्वास्थ्यकर्मीले वडामा ५० जनालाई तालिम प्रदान गर्नुहुनेछ । महिला स्वास्थ्य स्वयमसेविका, स्थानीय क्लव, टोल सुधार समिति, आमा समूह लगायतका संघसंस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूहमा राखिएको छ । यो तालिमपछि तालिम प्राप्त जनशक्तिलाई वडाका विभिन्न स्थान छुट््याएर डेंगी सार्ने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन हुनेछ ।  डेंगी संक्रमण दरमा कमी ल्याउने, डेंगीका कारण हुने मृत्यु दर घटाउने डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय लक्ष्य राखिएको छ । निगरानी तथा अनुगमन प्रणाली सुधार, कीट नियन्त्रण, जोखिम सञ्चार तथा सामुदायिक सहभागिता, स्वास्थ्य प्रणालीको पूर्व तयारी तथा प्रतिकार्य, नेतृत्व, वहुक्षेत्रीय सहकार्य र कार्यक्रम व्यवस्थापन सुधार, अनुसन्धान र नवप्रवर्तन कार्यक्रमका रणनीति हुन् ।

क्षमता विकास कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य कार्यालय काठमाडौंका अधिकारीहरुले प्रस्तुतिकरण मार्फत लक्ष्य र रणनीतिका बारेमा जानकारी गराएका थिए ।  मनसुन सुरु भएसँगै साउन महिनाबाट क्रमशः डेंगीको संक्रमण फैलिँदै जाने र कार्तिक, मंसिर महिनामा उच्च संक्रमण देखिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप