कैलाली । एउटा पुरानो टेम्पोकै सहारामा कैलालीको गोदावरी नगरपालिका–४, बासपानीकी धनादेवी धामी परिवारकाे गुजारा चलाउँदै आइरहेकी थिइन् । जीविकोपार्जनको एकमात्र आधार रहेको जीएसए टेम्पो डिभिजन वन कार्यालय धनगढीले भीरबाट फालिदिएको धामीले बताइन् । उनका अनुसार डिभिजन वन कार्यालय धनगढीले गाईमारेडाँडास्थित सडकछेउमा राखिएको उनको टेम्पोबाट सामान झारेर भीरतर्फ खसालिदिएको थियो । घटनापछि टेम्पोमा क्षति पुगेको र त्यसैसँगै परिवारको आयआर्जनको मुख्य स्रोतसमेत बन्द भएको पीडितले बताइन्।
वन कार्यालयले भने वन अतिक्रमण नियन्त्रण अभियान अन्तर्गत क्षेत्रमा ४७ वटा संरचना हटाइएको जनाएको छ । तर स्थानीयवासीले कानुन कार्यान्वयनका नाममा सर्वसाधारणको जीविकोपार्जनको माध्यममाथि क्षति पुर्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । धनादेवीले राज्यका निकायको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् । ‘यदि मैले गल्ती गरेकी थिएँ भने कानुनी प्रक्रिया अनुसार कारबाही हुनुपर्थ्यो,’ उनले भनिन्, ‘तर मेरो परिवारको रोजीरोटीको आधार नै किन नष्ट गरियो ?’
डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी जीवन यादवले पटक–पटक हटाउन आग्रह गरिए पनि अटेर गरिएकाले संरचना हटाउने काम गरिएको बताए । ‘त्यो चलाउनेभन्दा पनि व्यापार गर्न प्रयोग गरिने अटो थियो, पटक–पटक हामीले हटाउन भनेका थियौँ, तर मान्नुभएन,’ उनले भने । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटनाबारे छानबिन सुरु गरिएको बताए ।‘हामीले पनि भिडियो आएपछि मात्रै थाहा पायौँ । इलाका प्रहरी कार्यालय मालाखेतीले पीडित महिलासँग समन्वय गरिसकेको छ ।
तपाईंको प्रतिकृया



