काठमाडाैं । ज्योति विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा देशका विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रका ११ वटा स्वास्थ्य केन्द्रहरूलाई बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ। नवजात शिशुहरूको शारीरिक तापक्रम उचित राखी हाइपोथर्मिया (अल्पताप) को जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने यी जीवनरक्षक उपकरणहरू आधारभूत स्वास्थ्य सेवा तथा आवश्यक चिकित्सा पूर्वाधारको अभाव रहेका क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखी वितरण गरिएको हो।
सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्ने उद्देश्यले बैंकले आफ्नो शाखा नभएका स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउँदै आएको छ। विशेषगरी आधारभूत स्वास्थ्य सेवा सीमित रहेका, अस्पताल तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज पहुँचमा नरहेका तथा नवजात शिशुहरूलाई आवश्यक उपचार सुविधा अभाव भएका स्थानहरूलाई प्राथमिकतामा राखी सहयोग गरिएको हो। उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य चौकीका पदाधिकारीहरू तथा सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो।
यस आर्थिक वर्ष ज्योति विकास बैंकले पाँचथर जिल्लास्थित एकतीन हेल्थ पोस्ट, खोटाङ जिल्लास्थित जनसेवा नगर अस्पताल, अछाम जिल्लास्थित भाटाकाटिया हेल्थ पोस्ट, सङ्खुवासभा जिल्लास्थित नुम प्राथमिक हेल्थ केयर सेन्टर तथा सिसुवाखोला हेल्थ पोस्ट, बझाङ जिल्लास्थित कालुखेती हेल्थ पोस्ट तथा मष्टा हेल्थ पोस्ट, बाजुरा जिल्लास्थित पुर्भुता आधारभूत स्वास्थ्य सेवा केन्द्र, पाल्पा जिल्लास्थित ज्यामिरे हेल्थ पोस्ट, रोल्पा जिल्लास्थित लिवाङ हेल्थ पोस्ट र मकवानपुर जिल्लास्थित आमभञ्ज्याङ हेल्थ पोस्टहरुलाई उक्त मेसिन प्रदान गरेको छ। यस प्रोजेक्टमार्फत बैंकले हालसम्म देशभर ७३ वटा बेबी वार्मर प्रदान गरिसकेको छ।
स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले बैंकले विभिन्न चरणहरु मार्फत देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरुमा यस अघि प्रदान गरेका ७३ वटा बेबी वार्मर उपकरणहरु मार्फत हरेक वर्ष करिब २७०१ भन्दा बढी नेपाली शिशुहरुलाई यो सुविधा उपलब्ध गराई वहाँहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। साथै, हालसम्मको योगदानले करिब १३५०५ भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा यस सेवाबाट लाभान्वित भएका छन्। यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक पहलकदमीलाई निरन्तरता प्रदान गरेको छ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ। यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व वहन गर्दै गएको आर्थिक वर्षमा रु. ४१ करोड करमा योगदान पुर्याएको छ। साथै, चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म करिब रु. ६८ करोड राजस्व स्वरुप बुझाइसकेको छ।



