काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो । यसअघि पहिलो चरणअन्तर्गत वैशाख १६ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७९ हजार कित्ता आईपीओ बिक्री खुला गरिएको थियो । उक्त सेयर बाँडफाँड सम्पन्न भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरिएको हो ।
निष्कासित सेयरमध्ये ३९ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीलाई रेटिङ संस्था केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्स्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै, मेरो सेयर प्रणालीमार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ ।
एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
तपाईंको प्रतिकृया



