जाजरकोट । जाजरकोट खलङ्गाको थाप्लेमा ५ दिनसम्म सञ्चालन भएको पत्रकार महिलाका लागि क्षमता विकास तालिमको अन्तिम दिन सहभागी महिला पत्रकारहरूको अनुहारमा उत्साह र आत्मविश्वास झल्किन्थ्यो। कसैले अझ केही दिन तालिम चले गजब हुन्थ्यो भन्दै सिकाइ प्रतिको उत्सुकता व्यक्त गरिरहेका थिए भने कोही नोट बुकका पाना पल्टाउँदै सिकेका विषयवस्तु पुनः सम्झिरहेका थिए। कतिपय भने आगामी दिनमा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा कसरी प्रयोग गर्ने भन्ने योजनामा व्यस्त थिए।
यो केवल एउटा तालिमको समापन थिएन; जाजरकोटका महिला पत्रकारहरूका लागि नयाँ सम्भावना, आत्मविश्वास र व्यावसायिक विकासको ढोका खुल्ने महत्वपूर्ण अवसर पनि थियो। जाजरकोट जस्तो दुर्गम र भौगोलिक रूपमा विकट जिल्लामा पत्रकारिता गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो। कमजोर सडक पहुँच, सीमित सञ्चार पूर्वाधार र प्राकृतिक विपद्को उच्च जोखिमका बीच समाचारको खोजीमा गाउँ – गाउँ पुग्नु यहाँका पत्रकारहरूको दैनिकी बनेको छ। अझ महिला पत्रकारहरूका लागि घरायसी जिम्मेवारी र पेशागत दायित्वलाई सँगसँगै अगाडि बढाउनु थप चुनौतीपूर्ण विषय हो। यद्यपि यिनै चुनौतीहरूका बीच जाजरकोटका महिला पत्रकारहरूले स्थानीय समुदायका आवाज, समस्या, पीडा र सम्भावनालाई निरन्तर सञ्चार माध्यममार्फत उजागर गर्दै आएका छन्। उनीहरूको क्षमता अभिवृद्धि र व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले भेरी नगरपालिकाले पाँचदिने क्षमता विकास तालिम सञ्चालन गरेको हो।

भेरी नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा तथा नेपाल पत्रकार महासंघ जाजरकोट र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) कर्णाली प्रदेशको समन्वयमा सञ्चालन भएको तालिम जेठ १८ देखि २२ गतेसम्म खलङ्गाको थाप्लेमा सम्पन्न भएको थियो। तालिममा सहभागी पत्रकारहरूले समाचार लेखनका आधारभूत सीप मात्र होइन, विपद् पत्रकारिता, फिचर लेखन, लैङ्गिक संवेदनशील सञ्चार तथा जिम्मेवार सूचना सम्प्रेषणका विषयमा समेत व्यावहारिक ज्ञान हासिल गर्ने महत्वपूर्ण अवसर पाए। छलफल र अभ्यास मार्फत् पत्रकारितालाई अझ प्रभावकारी र उत्तरदायी बनाउने उपायहरूबारे पनि उनीहरूले सिके।
विशेषगरी २०८० साल कार्तिक १७ गतेको जाजरकोट भूकम्पले महिला, बालबालिका र सीमान्तकृत समुदायमाथि पारेको प्रभावले विपद् पत्रकारिताको महत्वलाई अझ स्पष्ट बनाएको छ। विपद्को समयमा सही र तथ्यपरक सूचना प्रवाह, पीडितको सम्मानको संरक्षण तथा पत्रकारको सुरक्षाजस्ता विषय अहिले झन् संवेदनशील बनेका छन्। तालिममा यिनै विषयलाई केन्द्रमा राखेर गहन छलफल गरिएको थियो। तालिममा वरिष्ठ पत्रकार तथा प्रशिक्षक निर्मला शर्मा, कल्पना शर्मा र गैरसरकारी संस्था महासंघ (गैसस) का सहदेव बस्नेत सहितको टोलीले सहजीकरण गरेका थिए। प्रशिक्षकहरूले पत्रकारितालाई केवल सूचना सम्प्रेषण गर्ने माध्यमका रूपमा नभई समाज परिवर्तन र जनचेतना अभिवृद्धिको प्रभावकारी साधनका रूपमा बुझ्नुपर्नेमा जोड दिएका थिए।

समापन कार्यक्रममा बोल्दै भेरी नगरपालिकाकी उप-प्रमुख सीता जैसीले असल पत्रकार, असल नेता कसरी बन्ने ? कसरी सफल र सक्षम सकारात्मक सोचले पत्रकारिता गर्नेतर्फ लाग्नुपर्ने बताईन् । सूचना नै सञ्चारकर्मीको सबैभन्दा ठूलो शक्ति भएको समेत प्रष्ट पारिन्। महिला पत्रकारहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै उपप्रमुखले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन् । तालिममा सहभागी पत्रकारहरूको अनुभव पनि प्रेरणादायी थिए। उनीहरूका अनुसार फिचर लेखन, विपद् पत्रकारिता र लैङ्गिक संवेदनशील सञ्चारसम्बन्धी विषयमा प्राप्त ज्ञानले उनीहरूको पेशागत आत्मविश्वास बढाएको छ। ग्रामीण क्षेत्रमा काम गर्दा भोग्नुपर्ने अनेक चुनौतीका बाबजुद अब आफूहरू अझ जिम्मेवार, सक्षम र प्रभावकारी रूपमा काम गर्न सक्ने विश्वास जागेको उनीहरूको भनाइ छ।
तालिममा १० जना महिला र ३ जना पुरुष पत्रकार गरी कुल १३ जनाको सहभागिता रहेको थियो। जाजरकोटमा महिला पत्रकारहरूको संख्या अझै सीमित भएपनि पछिल्ला वर्षहरूमा उनीहरूको सक्रियता र प्रभाव विस्तार हुँदै गएको देखिन्छ। स्थानीय सरकार तथा सरोकारवाला निकायको निरन्तर सहयोग प्राप्त भए महिला पत्रकारहरूले ग्रामीण समुदायका मुद्दा अझ सशक्त रूपमा उठाउन सक्ने विश्वास गरिएको छ। पाँच दिनको यो सिकाइ यात्रा एउटा तालिममा मात्र सीमित छैन। यसले जाजरकोटका महिला पत्रकारहरूलाई नयाँ सीप, बलियो आत्मविश्वास र फराकिलो सम्भावनाको अनुभूति गराएको छ। चुनौतीहरू अझै बाँकी छन्, तर ती चुनौतीसँग जुध्ने साहस र तयारी पनि बढेको छ। सायद यही कारणले यो तालिमको वास्तविक उपलब्धि प्रमाणपत्रमा होइन, सहभागीहरूको बढेको आत्मविश्वास, सिकाइप्रतिको प्रतिबद्धता र भविष्यप्रतिको आशावादमा देखिन्छ।




