सांसद सिंहले जनाए प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा असन्तुष्टिः ‘नयाँपनको नाममा संसदीय परम्परा भत्काउँदै जाँदा संसद्को औचित्य नै समाप्त हुने’

काठमाडौं । प्रि–बजेटमाथिको छलफल जारी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले असन्तुष्टि जनाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए। आफ्नो २० वर्षको संसदीय अभ्यासमा पहिलोपटक अर्थमन्त्रीविना नै प्रि–बजेट छलफल भएको देखेको भन्दै सांसद सिंहले आपत्ति जनाए।

नयाँपनको नाममा संसदीय परम्परा भत्काउँदै जाँदा संसद्को औचित्य नै समाप्त हुने भन्दै उनले चिन्ता व्यक्त गरे। उनले भने,‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिँदैन। बजेटको विनियोजन प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने परम्परा छ। परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन । हामी पाँचौं पटकका सांसद छौँ, यसरी सबै परम्परा भत्काउँदै गयौँ भने यो संसद्को औचित्य नै समाप्त हुन्छ।’

उनले संसद्मा प्रश्न गर्दै थपे, ‘२० वर्षको कार्यकालमा पहिलोपटक देख्दै छु, अर्थमन्त्रीविना प्रि–बजेट छलफल भइरहेको छ। यो कस्तो परम्पराको सुरुवात हुँदै छ? नयाँको नाममा सबै चिज भत्काउने होइन। नयाँको नाममा सबै भत्काउने नै हो भने सिंहदरबार पनि भत्काऔँ, प्रधानमन्त्री र मन्त्री पद पनि भत्काऔँ, सबै चिजहरू परिवर्तन गरौँ। तर, त्यो औचित्यपूर्ण हुनुपर्छ। जति व्यस्त भए पनि एक–दुई दिनको छलफलमा अर्थमन्त्री बस्नुपर्छ।’
यसका साथै, बजेट विनियोजनको प्राथमिकतामा मधेशका लागि केही पनि नसमेटिएको भन्दै उनले सरकारसमक्ष गुनासोसमेत गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री