काठमाडाै । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले सामूहिक लगानी कोष ‘रिलायबल समृद्धि योजना २’ को इकाई सार्वजनिक निष्काशन खुला गरेको छ । रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको जनाएको छ ।
निष्काशन गरिएको कुल इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ । यसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई तथा १० लाख इकाई योजना व्यवस्थापकका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले वताएकाे छ ।
क्यापिटलका अनुसार इकाई खरिदका लागि जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै इकाई बिक्री नभएमा आवेदन अवधि जेठ १२ गतेसम्म लम्ब्याइनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालन गरिएको ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।




