बाँके । ‘सिक्टा सिँचाइ आयोजना अन्तरगत डुडुवा शाखा नहर निर्माण सम्पन्न भएपछि बाँकेको ठूलो कृषि क्षेत्र बाह्रैमास सिँचाइ सुविधामा जोडिनेछ, जसले किसानको उत्पादन र आम्दानी दुवै बढाउनेछ ।’ यो भनाई हो सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहको । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरसँग जोडिएको डुडुवा शाखा नहर निर्माण कार्य अहिले तीव्रगतिमा अघि बढिरहेको उनले बताए ।
आयोजना बाँके जिल्लाको कृषि उत्पादन वृद्धि र दीर्घकालीन सिँचाइ व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको आयोजना हो । वर्षौंदेखि आकाशे पानी र मौसमी खेतीमा निर्भर रहेका किसानलाई बाह्रैमास सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस आयोजनाको डुडुवा शाखा नहरलाई अहिले विशेष प्राथमिकताका साथ निर्माण भइरहेको आयोजनाले जनाएको छ ।
सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर साहका अनुसार डुडुवा शाखा नहर २३ दशमलव ४ किलोमिटर लामो हुनेछ । उक्त नहरमार्फत करिब १६ हजार हेक्टर कृषि योग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ । नहरअन्तर्गत खजुरा र मानपुर मुख्य शाखाका रूपमा विकास गरिनेछ भने त्यससँगै विभिन्न उपशाखा नहरहरू निर्माण गरी गाउँगाउँसम्म पानी पु¥याइने योजना रहेको छ ।
उनले सिक्टा सिँचाइ आयोजनाको मूल नहरबाट १८ क्युमेक्स पानी डुडुवा शाखा नहरमा खसालिने जानकारी दिँदै यसले बाँकेको नेपालगन्ज, जानकी, खजुरा र डुडुवा गाउँपालिकाका हजारौँ किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए । अहिले पनि मूल नहरबाट डुडुवा शाखा नहरको मुहानसम्म नियमित पानी सञ्चालन भइरहेकाले नहर निर्माण पूरा भएसँगै खेती प्रणालीमा ठूलो परिवर्तन आउने उनको भनाइ छ ।
विगतमा ठेक्का विवाद, निर्माण कम्पनीको ढिलासुस्ती र प्रशासनिक प्रक्रियाका कारण डुडुवा शाखा नहर निर्माण लामो समयसम्म प्रभावित बनेको थियो । पुरानो ठेक्का रद्द भएपछि नयाँ कम्पनीमार्फत पुनः निर्माण प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ । हाल निर्माण कार्य करिब २५ प्रतिशत सम्पन्न भइसकेको छ भने बाँकी कामलाई तीव्र बनाइएको आयोजना कार्यालयले जनाएको छ ।
आयोजना पक्षका अनुसार निर्माण सम्पन्न भएपछि बाँके जिल्लामा सिँचाइ पहुँच उल्लेखनीय रूपमा विस्तार हुनेछ भने खेतीयोग्य जमिनको उत्पादकत्वमा वृद्धि आउने अपेक्षा गरिएको छ ।
‘डुडुवा शाखा नहर बनेपछि अहिले सुक्खा र खडेरीको समस्याले प्रभावित किसानलाई ठूलो राहत मिल्नेछ,’ सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता सङ्घका अध्यक्ष शालिकराम डाँगीले भने । उनका अनुसार अहिले धेरै किसान वर्षायाममा मात्रै खेती गर्न बाध्य छन् भने हिउँदमा पर्याप्त पानी नहुँदा खेत बाँझै रहने अवस्था छ ।




