‘पत्रकार महिलाका लागि सुरक्षित इकोसिष्टम र समावेशी नेतृत्व’ : महिला पत्रकारहरूले समाचार कक्षमा अझैपनि विभिन्न चुनौती र दबाब सामना गर्दै

काठमाडौं ।  प्रेस काउन्सिल नेपालले ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘पत्रकार महिलाका लागि सुरक्षित इकोसिस्टम र समावेशी नेतृत्व’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महिला पत्रकारहरूको पेशागत सुरक्षा, समान अवसर, नेतृत्वमा पहुँच र लैङ्गिकमैत्री सञ्चार वातावरण निर्माणका विषयमा सरोकारवालाबिच ब्यापक छलफल गरिएको थियो ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले कार्यक्रममा उठेका सुझावहरूप्रति काउन्सिल प्रतिबद्ध रहने बताएका छन् । महिला पत्रकारसँग सम्बन्धित मुद्दाहरूलाई काउन्सिलको अधिकारक्षेत्रभित्र रहेर सम्बोधन गरिने पनि प्रष्ट पारेका छन् ।  काउन्सिल नियमनकारी भूमिकामा सीमित नभई सञ्चार माध्यम तथा पत्रकारहरूको सीप र क्षमता अभिवृद्धिमा पनि प्राथमिकता दिने आगामी तयारी रहेकाे समेत प्रष्ट्याए ।
काउन्सिलका सदस्य सचिव तथा सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले महिला पत्रकारहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै पेशागत विकासमा निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिए । पत्रकारितामा नयाँ पुस्ताका महिलाहरूलाई आकर्षित गर्न आवश्यक वातावरण निर्माण गर्नुपर्ने जाेड दिए । महिला पत्रकारहरूले समाजलाई सचेत र सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा पनि गरे।

कार्यक्रमको विषयवस्तुमा काउन्सिल बोर्ड सदस्य  तथा कार्यक्रमका संयोजक कुमारी निमा काफ्लेले अन्तर्राष्ट्रिय महिला दिवसलाई केवल उत्सव होइन, महिलाको योगदान, संघर्ष र उपलब्धिका रुपमा सम्झनुपर्ने वताइन् । पत्रकार महिलाका समस्याकाे पहिचान गर्दै  समाधानकाे अधिक पहल गर्ने प्रतिवद्धता ब्यक्त गरिन्।  परम्परागत मिडियाको सीमित दायराबाट बाहिर निस्केर अर्थपूर्ण नेतृत्व स्थापित गर्नुपर्नेमा उनकाे जाेड थियाे । 

कार्यक्रमकी मुख्य विषयवक्ता वरिष्ठ पत्रकार बबिता बस्नेतले पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउन र सञ्चार माध्यममा महिलासम्बन्धी सामग्रीको निगरानीका लागि  काउन्सिलको भूमिका महत्वपूर्ण रहेको बताइन्। अझैपनि धेरै महिला पत्रकारहरूले समाचार कक्षमा विभिन्न चुनौती र दबाब सहनुपरेकाे उल्लेख गर्दै समाचार कक्षमा समावेशी नेतृत्व आवश्यक रहेको उल्लेख गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष एवं काउन्सिलका बोर्ड सदस्य निर्मला शर्माले महिला पत्रकारको संख्या बढ्दै गएको भएपनि नेतृत्व तहमा उनीहरूको उपस्थिति अझै पर्याप्त हुन नसकेकाे धारणा राखिन् । शर्माले पत्रकारिता सम्बन्धी नीति र आचारसंहितालाई लैङ्गिक दृष्टिकोणबाट हेरिनुपर्नेमा जाेड दिइन् ।

त्यस्तै काउन्सिलका बोर्ड सदस्य पदमराज जोशीले विधागत पत्रकारिताको क्षमता अभिवृद्धि गर्ने विषयलाई काउन्सिलले प्राथमिकतामा राख्ने वताए । सञ्चार सामग्रीको नियमनका सन्दर्भमा काउन्सिलले विद्यमान नियमअनुसार आमसञ्चार माध्यम तथा पत्रकारको नियमन प्रक्रियागतरूपमा गरिरहेको पनि उल्लेख गरे ।

काउन्सिलका बोर्ड सदस्य नकुल अर्यालले सरोकारवालाबाट आएका सुझावहरूलाई काउन्सिलले सकारात्मक रुपमा लिने बताउँदै महिला प्रतिनिधित्वको लडाइँ सकारात्मक भएकाे धारणा राखे ।  कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले महिला पत्रकारहरुको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने वताइन् ।

कार्यक्रममा महासंघकी उपाध्यक्ष नितु पाण्डितले आमसञ्चार नीतिमा सहभागिताको विषय स्पष्ट रूपमा उल्लेख नभएको बताउँदै महिला पत्रकारहरूको सुरक्षा केवल भौतिक सुरक्षासम्म सीमित नभई पेशागत, कानुनी तथा दण्डहीनतासम्बन्धी विषयसँग पनि जोडिएको बताइन् । पण्डितले नियमित तथा न्यूनतम पारिश्रमिक सुनिश्चित नभएसम्म महिला पत्रकारिता बलियाे हुन नसक्ने धारणा राख्दै समाचार कक्षको सम्पादकीय नेतृत्वमा महिलाको उपस्थित बढ्नैपर्ने वताइन् । 

कार्यक्रममा काउन्सिलको आचारसंहिता अनुगमन तथा उजुरी महाशाखा प्रमुख रामशरण बोहराले महिला पत्रकारहरूको पेशागत सुरक्षा अहिलेको प्रमुख चुनौती धारणा राखे । कार्यक्रममा बाेहराले  आक्रमण, धम्की, रोजगार असुरक्षा, पारिश्रमिक असमानता तथा लैङ्गिक विभेदजस्ता समस्याहरू सामना गर्नुपरेको अवस्था अझै कायम रहेको वताए । महिला पत्रकारसँग सम्बन्धित चरित्रहत्या, व्यक्तिगत गोपनीयता उल्लङ्घन तथा प्रेस स्वतन्त्रतामाथि हुने आक्रमणका बारेमा काउन्सिलमा अभिलेख भएका घटनाहरू जानकारी गराए  । यस्तै, कार्यक्रम सञ्चालक तथा काउन्सिलका उपप्रशासकीय अधिकृत सविता ढकालले महिला पत्रकारहरूले परम्परागत मिडियाको सीमित दायराबाट बाहिर निस्केर अर्थपूर्ण नेतृत्व स्थापित गर्नुपर्ने बताइन् ।

कार्यक्रममा सहभागी सम्पादकीय नेतृत्वमा रहेका  महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको सुरक्षा शारीरिक र मानसिक मात्र नभई डिजिटल रूपमा पनि सुनिश्चित गरिनुपर्ने वताए ।  समाचार कक्षमा समावेशी र सुरक्षित वातावरण, समान अवसर, उचित पारिश्रमिक तथा पेशागत सम्मानको अभावले महिला पत्रकारहरूलाई दीर्घकालीनरूपमा पेशामा टिकिरहन कठिन बनाएको भन्दै समस्या उत्पन्न भएका धारणा राखे। विशेषगरी डिजिटल प्लेटफर्ममा हुने दुव्र्यवहार, अनलाइन ट्रोलिङ, लैङ्गिक पूर्वाग्रह तथा असमान ज्यालालाइ महिला पत्रकारहरूले दैनिक रूपमा सामना गर्नुपरेको वताए । नेतृत्व तहमा महिलाको प्रतिनिधित्व बढाउन स्पष्ट नीतिगत व्यवस्था, क्षमता अभिवृद्धिका तालिम, डिजिटल सीप विकासका लागि सम्बन्धित  निकायले ध्यान दिनुपर्ने सुझाव रहेको थियो । प्रेस काउन्सिल नेपालको सभाहलमा पत्रकार महासंघका अध्यक्षको प्रमुख आतिथ्यता, प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यको उपस्थिति र काउन्सिलका सदस्य कुमारी निमा काफ्लेको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा ३० भन्दा बढी सक्रिय र सम्पादकीय नेतृत्वमा रहेका  महिला पत्रकारहरूको सहभागिता रहेको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री