समता पोखरेल
मेरो लागि निर्वाचनमा अहिले आफ्नो मत प्राथमिकतामा परेको छैन । तर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई भने विर्सन सक्ने अवस्था छैन । त्यसैले पनि हुनसक्छ, यो पाली कसलाई भोट दिदा सही हुन्छ त ? कसरी सही उम्मेदार छान्ने ? मनमा निकै हलचल मच्चिएको छ । हुनत मेरो एउटा मतले कुनै उम्मेदवारको विजय वा पराजयलाइ निर्धारण गर्ने भन्ने नहोला तथापि कहिलेकाहीँ त्यही एकमत पनि निर्णायक चाहिँ बन्न सक्छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिएकिएसँगै देशमा चुनावको माहोल बढेको छ । जताततै चुनावकै चर्चा छ, कसले वाजी मार्ला ?आगामी दिनमा कुन राजनितिक दलले सरकारको नेतृत्व गर्ला ? सञ्चार माध्यमहरुले यसलाई अझ रोचक बनाएका छन् भने चुनावको माहोललाइ पनि राम्रै तताएका छन् । अब समाजिक सञ्जालको त झन कुरै नगर्दा पनि हुन्छ । फेसबुक खोल्यो की, को होला अबको प्रधानमन्त्री ? प्रधानमन्त्रीको दौडमा कसले बाजी मार्ला ? झापा ५ को चुनावमा कसको पल्लाभारी ? आदी इत्यादी । म पनि यिनै कन्टेन्ट हेर्ने र समाजिक सञ्जालमा रुमल्लीरहेको छु भन्दा फरक नपर्ला । कसलाई के धन्दा घर ज्वाईलाई भने खानेकै धन्दा भनेझै, मलाई चै कसलाई भोट हाल्ने होला भन्ने चिन्ताले सताइरहेको छ । विषय खासै रोचक अनि चाख लाग्दो भने पक्कै पनि होइन तर मेरो लागि भने राम्रै अलमलको विषय बनेको छ ।
म जस्तै तपाइहरुलाई पनि भएको छ की भन्ने जिज्ञासा मात्र !
एउटा व्यक्ति जो कुनै पनि राजनीतिक दलमा आवद्ध छैन र राजनीतिमा खासै चासो पनि राख्दैन । उसको लागि प्रतिनिधिसभाको निर्वाचन खासै चासोको विषय त नहोला तर आफ्नो अधिकारले पाएको मतदानको सही उपयोग होस भन्ने पक्कै पनि लाग्छ । न त राजनितिक दलका कुनै नेतालाई चिन्या छ ! नत चिन्ने जागर नै ! तर कुन व्यक्तिलाई या कुन राजनीतिक दललाई भोट हाल्ने हो ? दोधार भने पक्कै छ ।
फेरी नेपालमा no vote को Option पनि त छैन । अनि पाँच वर्षमा १ पल्ट आउछ यसको अनुभव पनि त लिनैपर्यो । गत भदौको त्यो जेनजी मुभमेन्टले मन अझै विचलित छ । त्यही भएर होला भोट कसलई हाल्ने भन्ने विषयमा अलमलता पनि । फेरी त्यो आन्दोलनमा मारिएका ७६ नागरिकहरु प्रति (विद्यार्थी तथा अन्य ) तत्कालिन सरकारले (दोस्रो ठुलो राजनितिक दलको रुपमा स्थापित भएको नेकपा एमाले ) देखाएको गैह्र जिम्मेवारीपूर्ण हर्कत र अभिव्यक्ति सुन्दा आफैलाई नमज्जा लाग्छ । अन्य देशको कुरा गर्ने हो भने राजनीतिमा नैतिकता जिवितै देखिन्छ, उदाहरणको लागि सन् २०१९ मा जापानका ओलम्पिक मन्त्री योशिताका साकुरादाले संसदीय बैठकमा केही मिनेट ढिलो पुग्दा मात्रै पनि सार्वजनिक रूपमा माफी मागे । त्यस्तै सन् २०२५ सेप्टेम्बरमा बेलायतकी उपप्रधानमन्त्री एन्जेला रेनरले खरीद गरेको सम्पत्तिमा स्ट्याम्प शुल्कको सही रकम नतीरेकै कारण आफ्नो पदबाट राजीनामा दिएकी थिइन । विश्वमा यस्ता उदाहरणहरु धेरै छन् जसले नैतिकताकै आधारमा पदबाट राजिनामा दिएका छन र माफी मागेका छन् ।
हामी नेपाली जनताले भने कहिले होला यस खालको राजनीतिक नेतृत्व पाउने ?
हाम्रो देशमा भने भदौ २३ मा सरकारको दमनबाट १९ जना विद्यार्थिहरुको ज्यान जाँदा पनि सरकारले माफी सम्म मागेन । राजिनामाको त के कुरा । फलस्वरुप आन्दोलनले यस्तो अराजक रुप लियो अन्त्यमा उसले आफ्नो ज्यान जोगाउनका लागी राजीनामा दिनपर्यो भने नेपाली सेनाको साहारा लिएर भाग्नुपर्यौ । अझैपनि उसको अभिव्यक्तिमा घमण्ड र दम्भताको गन्ध आउँछ । कठै हामी नेपाली जनता । अब कुरा गरौ अन्य राजनीतिक दलको जेनजी आन्दोलन पछि सबैलाई देश बनाउने हुटहुटी चलीराछ । केही नयाँ राजनितिक दलहरु देश बनाउने दौडमा लागेका छन । यिनैमध्ये एउटा नयाँ राजनीतिक दल मानिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जसको जन्म भने गत प्रतिनीधिसभाको चुनाव २०७९ मा भएको थियो । अहिले यो राजनितिक दल निकै चर्चामा रहेको छ । चर्चा मा नहोस पनि किन ? सो दलका मुख्य नेतालाई नै सहकारी ठगीको मुद्धामा वारम्वार अदालत धाउनु पर्या छ । भने ठुलै रकम धरौटी राख्नुपर्या छ । त्यसो त उनी यही ठगी कै मुद्दामा केहि समय जेल पनि बसेरै आएका हुन । तर पनि सामाजिक सञ्जाल र केहि मिडियाका समाचार हेर्दा लाग्छ अब देशको भविष्य उसकै राजिनितिक दलको जिम्मामा पर्ला । सबै जनता नयाँ खोजीरहेका छन भने पुरानाबाट वाक्क दिक्क भएका बेला, मौका पनि मिल्न सक्ला । केही भन्न सकिन्न ।
नयाँ राजनीतिक दल, नयाँ जोस र युवा पिढीले खोजेको नयाँ युवा नेतृत्व । त्यसमाथि काठमाण्डौका पुर्व मेयर पनि यसै राजनीतिक दलमा आबद्ध भएपछि त यो पार्टीको चार्म नै बेग्लै छ, चर्चै चर्चाले चुलिएको छ । अब भने भोट दिने अलमल पनि सकिए जस्तो । पुर्व मेयर जो भावी प्रधानमन्त्रीको दावेदारका रुपमा यस दलमा संलग्न भएका छन् । उनी यस दलका वरिष्ठ नेता । जनताको उनीप्रतिको क्रेज हेर्ता त लाग्छ । यसपालिको भोट नयाँलाई नै भयो अब । उनले दिएको जनकपुरको भाषण भने गज्जवै लाग्यो न त अरुलाई गाली गलौज न त अरु राजनितिक दल प्रतिको असन्तुष्टी । नेता होस त यस्तो । कती सभ्य अनि भव्य । भलै उनी आफैले गरेको निर्णयवाट विमुख भए । मिथिलानगर जनकपुरमा उनले प्रदेश चाहिन्छ भन्ने कुरा स्पष्ट राखे । गत २०७९ को प्रतिनिधिसभाको चुनावमा आफ्नो मत हाल्ने क्रममा उनले प्रदेश खारेज गर्नुपर्छ भनि संसदीय चुनावमा मात्र सहभागी भए भने प्रदेशको चुनावमा सहभागी भएनन भन्ने चर्चा राम्रै थियो । भनिन्छ जब असल मान्छे हरुको खडेरी पर्छ तब खराब मध्येवाट अलि कम खराब मान्छेलाई साथ दिनुपर्छ । यहि विचारलाई अघि बढाएर मैले पनि चित्त बुझाए अब मेरो एक भोटको अन्योलता सकियो भनेर ।
यसको एक दुइदिन मै अर्कै जवाफ र रबाफले सामाजिक सञ्जाल भरियो । जनताले जनताद्धारा जनताकै लागि बनाउन लागेको सरकारमा जान लागेको नेतृत्व वा नेताले जनताप्रति केहि जवाफदेहिता नै लिन्न भन्छ । ए बाबा ! कसैमाथि आरोप प्रत्यारोप गर्दैमा आफ्नो जवाफदेहिता र दायित्य पनि सकिने हो र? यो त अर्काको जफावदेहिता सम्झाउँदा सम्झाउँदै आफ्नो चै जवाफदेहिता र दायित्व विर्से जस्तो भएन र ? हुनत सामाजिक सञ्जालमा उनका गैह्र जिम्मेवारीपुर्वक पोष्ट गरिएका केहि स्टाटसहरु हामीले पहिले पनि नपढेका होइनौ । तरपनि जनताले विश्वास गरिरहँदा उनीहरुको अपेक्षालाई निरुत्साहित गरिन्छ भने पक्कै फेरी पनि अन्यौलतालेनै घरजम गर्छ । करिब करिब टुंगोमा पुगेको मेरो एक मत फेरी अलमलमै परिणत हुनपुग्योे । अब कुरा गरौ अर्को पुरानो राजनितिक दल जो नेपालको पहिलो र बुढो राजनीतिक दलको रुपमा स्थापित छ जसले दललाई नयाँ ढंगबाट जेनजी आन्दोलनको मर्मलाई बुझेर अगाडी बढाउने दाबी गर्दैछ । हुनपनि केहि परिवर्तन त गरेकै हो है, मान्नैपर्छ । नेतृत्व परिवर्तन कहाँ सजिलो छ र ? त्यो पनि आफ्नै दलभित्र आफ्नै सँग । भनिन्छ अरु सँग लड्न सजिलो हुन्छ तर आफ्नै सँग लड्न गाह्राे हुन्छ । जे होस सुरुमा लगभग असम्भव जस्तो देखिएतापनि अन्तत परिवर्तन भएरै छाड्यो । यो सहासलाई भने सोही दलका केही नेतृत्वलाई मान्नैपर्छ । कहाँ सजिलो थियो र बाहरुलाई रिटार्यटमेन्ट दिन । नजिकैको पुरानो छिमेकी घरमा बाहरु केहि गर्दा टसमसाएनन । विधान नै संसोधन गरेर भएपनि कुर्सिमै टाँसिए । अब त विधिविधान बाटै मान्यता प्राप्त कसले के बोल्न सक्ने र ? बुढेसकालमा पनि कती जागर । आफुभन्दा सानालाई गरि खाओ भन्नु नी । केही परे म छँदैछु नी भनेर ।
हुनत यो सत्ता र शक्तिको मोह, कसले पो नाइ भन्ने र ? नागरिक समाजवाट अन्तरिम सरकारमा दुइ चार महिनाका लागि मात्रै भनेर जानेलाई त यसको लत र मोह राम्रै लागेछ । चुनाव गराउन भनेर मन्त्री परिषद्मा गएका केहि व्यक्ति बीचैमा जिम्मेवारी छोडेर आफै चुनावमा लड्ने पो भएछन् । यो सब सिहंदरबारको कुर्चिकै खरावी पो हो की ? जो गएपनि त्यही नै बस्न मन लाग्ने । केहि बुझ्नै सकिएन । पुरानो भनिने पार्टिमा पनि नेतृत्व मात्र फरक हो की जस्तो लाग्यो । सोच त फेरि पुरानै छ । अस्ति भर्खरै मात्र चुनावमा कुनै राजनितिक दलसँग गठबन्धन गरिदैन भनेको सुनेकोे बरु चुनाव हार्न तयार । तर एकदुइ दिनमै समाचार आयो कांग्रसले गर्यो अघोषित गठबन्धन, अब कसको कुरा पत्याउने ? नेकपा माओवादी (हाल नेपाली कम्युनिष्ट पार्टी ) । यो राजनितिक दललाई किन छुटायो भन्नुहोला ? १७००० मानिसको ज्यान गुमाउनुको ट्याग यो दललै छदैछ । वि.सं. २०७१ मा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन त भयो, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच भएको सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवता विरुद्धको अपराधमा संलग्न व्यक्तिहरुको सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न भनेर ।
तर आफै सरकारमा हुँदा समेत द्धन्द पिडितको समस्या समाधान गर्न सकेन । यस राजनीतिक दलका दुइ मुख्य पात्रविच विचार नमिलेर एक आपसमा फुट । १० वर्षे जनयुद्धले ल्याएको नेतृत्वले खै त, जनताको जनजीवनमा सुधार ल्याएको ? उसकै परिवार र नातागोता अनि नजिकका कार्यकर्ता वाहेक खै कसको पहुँच ? केही नीति नियममा भने पक्कै परिवर्तन आयो । समावेशीता ल्यायो । तर प्रश्न उठ्छ के १७००० जनताको रगतको मुल्य यती नै हो त ? र अर्को मलाई लागेको विषय अहिले गाउँमा युवा नदेखिनु यहि राजनितिक दलको उपज हो । जनआन्दोलनको वेला जबरजस्ती गरियो जनयुद्धमा लान । कतीको बली चढाइयो सहिदको नाममा । त्यसताका धेरै युवा जनशक्ति की सहर पसे की जनयुद्धमा फसे । वाध्यता स्वरुप गाउँघरमै केहि काम गरिरहेका थुप्रै युवायुवती गाउँबाट बाहिरिए । त्यसपछि भने गाउँघरमा युवा पिढिको खडेरी नै लाग्न थाल्योे । यती हुँदा हुँदै पनि केहि परिवर्तनको आशामा जनताले यो राजिनितिक दललाई २०६४ सालको प्रतिनिधि सभाको चुनावमा विश्वास गरैकै हो । सो निर्वाचनको प्रतिफलमा सबैभन्दा ठुलो दल बनाकै हो र यो दलले सरकारको नेतृत्व पनि गरेकै हो । अन्ततः जनताको आशा निरासामा परिणत पनि भएकै हो ।
अब लागौ उम्मेदवारले दिने वाचा सहितको परिवर्तनको आशाको विषयमा । सबै दावेदार उम्मेदवारहरु भन्छन, मैले वा फलानो राजनीतिक दलले जितेपछि देशमा परिवर्तन हुनेछ । खै कहिले हुने हो परिवर्तन ? केही बुझ्नै सकिएन । हुनत परिवर्तन नभएको भन्न पनि मिल्दैन है । हाम्रो देशमा जन्मदै बच्चाले प्रतिव्यक्ति करिब एक लाखको ऋणको भार लिएर जन्मन्छ । यो विगत केहि वर्षको परिवर्तनको प्रतिफल नै हो ।
फेरी अस्ती भर्खर तेत्रो ठुलो परिवर्तन भाको हैन र ? जेनजी आन्दोलन । तत्कालिन सरकारको गैह जिम्मेवारी हर्कत र शुन्य जबाफदेहिता ? सुरक्षाको जिम्मेवारीमा कति कमजोर अनि लाचार । हुनत हामी नागरिकमा पनि कहाँ चेत र जिम्मेवारी देखियो र ? आफ्नै राष्ट्रको धरोहर न्यायपालिका कार्यपालीका र व्यवस्थापीका जलाउन समेत बाँकी राखेनौ ध्वस्तै बनायौ । अरु सम्पत्तिको तोडफोड र आगजनीको त के लेखाजोखा भयो र ? हामी जनतामा पनि खै त राष्ट्रप्रतिको दायित्व र जिम्मेवारीता ? सकारात्मक परिवर्तन पो नभएको हो त । नकारात्मताले भरिएको परिवर्तन त जताततै हेर्न र सुन्न सकिन्छ । कुशासन र भ्रष्टाचारको पाराकाष्टाको परिवर्तन । त्यही भएर होला फेरी पनि म अलमलमै छु, अब त यस्तो लाग्छ म पनि एउटा पार्टिमा आबद्ध हुनुपर्ने रहेछ । न त राम्रो, नराम्रो छुटाउनुपर्ने ? न त चुनावमा को उठ्यो, के उठ्यो विचार, विमर्ष नै गर्नुपर्ने ? मौका मिल्दा कहिले काहीँ उक्त दलबाट फाइदा पनि लिन मिल्ने । समग्रमा भनौ राजनितिक पहुँच बलियो हुने ।
राजनीतिमा आबद्ध नेताहरुको आरोप प्रत्यारोपलाई हेर्ने हो भने न त पुराना राजनितिक दल गतिला न त नयाँ राजनितिक दल नै । सञ्चारमाध्यमका टिका टिप्पणीले त झन अल्मलिएको पो भान हुन्छ । विभिन्न राजनीतिक दलका नेताले एक अर्कालाई दोषारोपण गर्ने प्रवृति त पुरानै हो । लगभग हामी पनि त्यसमा अभ्यस्त भैसकेका छौ । आफु राम्रो बनेर हैन कसरी अरुलाइ नराम्रो देखाएर “म” पात्रलाइ राम्रो बनाउने । यो प्रवृति राजनीतिक संस्कारमा हावि छ भन्दा गलत नहोला । तर अचम्म त के लाग्छ भने राजनितिक दलमा आबद्ध भएका कार्यकर्ताहरुले समेत एक अर्कालाइ गाली गलौज मिसिएको सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटस देख्दा, यस खालको राजनीतिक संस्कार र परिपाटीबाट कहिले मुक्त हुने हो यो समाज ? यस्तै हो भने भविष्यमा हाम्रो भाषाको सभ्यता नै जोगाउन कठिन हुने हो की ? जबसम्म यस खालका संस्कारको पतन हुँदैन तबसम्म स्वच्छ छवी भएका राजनेता यो समाज र देशले पाउँदैन ।
खै कसलाई विश्वास गर्ने यहाँ ? सबैलाई सिंहदरवारको सत्ताको नसा लागेको छ । देश बनाउन हैन शक्ति र पैसामा रमाउन संसद भवन छिर्नपर्या छ । जससम्म “म” राम्रो र “म” शब्द हावी हुन्छ तबसम्म समाजमा सकारात्मक परिवर्तन, जिम्मेवारी र जवाफदेहिताको सँधै खडेरी पर्छ । देशले हैन खाली संसद भवन पस्ने व्यक्ति र उसका आसेपासेको मात्र जित हुनेछ भने देशले सधै हार व्यहोर्ने छ । मेरो एउटा भोटले कुनै राजनीतिक दल वा नेतृत्वलाई विजय वा पराजयको तराजुमा तौलिदैन तर थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझै म जस्तै मतदाता यो समाजमा अरुपनि त होलान, अरुलाई पनि मलाई जस्तै अन्यौलता छ की ? मेरो अन्योलताको विषय भने जस्ताको तेस्तै नै छ । यो दुविधालाई निराकरण गर्ने यदि कुनै उपाय भएमा म लगायत म जस्ता मतदाता आभारी हुने थियौ । यदि कसैलाई कोही पात्र वा राजनैतिक दल सही लाग्छ भने भन्नुहोला है । तपाईको सहयोगको आभारी हुनेछु । भोट नै नगरी पनि भएन । यो मेराे अधिकार हो ।
धन्यवाद !




