काठमाडाैं । “सुशासन र समृद्धि नागरिकको अधिकार : भ्रष्टाचार नियन्त्रणमा बनौँ सबै जिम्मेवार” भन्ने नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको मूल समारोह राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सम्माननीय राष्ट्रपतिले अख्तियार दुरुपयोग राज्यको वैधानिकता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यमाथिको गम्भीर चुनौती भएको बताए। उनले सार्वजनिक निकायहरू व्यक्तिगत स्वार्थका लागि प्रयोग हुँदा शासन प्रणालीप्रति निराशा बढ्ने, कानुनप्रति आस्था कमजोर हुने र लोकतन्त्रका आधारभूत मूल्य नै प्रभावित हुने उल्लेख गरे।
उनले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई राज्यका सबै अंग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको संयुक्त प्रतिबद्धताबाट मात्र सफल हुन सक्ने बताए। सत्ता, शक्ति र धनको अनावश्यक मोहले भ्रष्टाचार बढाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै सदाचार, पारदर्शिता, निष्पक्षता र निष्ठालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारमार्फत अनुशासन र सुशासन प्रणाली सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो।
कार्यक्रमका विशिष्ट अतिथि प्रधानमन्त्री सुशीला काकीले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले आयोगले देखाएको सक्रियता र निष्पक्षताको प्रशंसा गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने प्राथमिक जिम्मेवारी सरकारकै भएको र प्रत्येक निकायका प्रमुखले आफ्नो संस्थाभित्र भ्रष्टाचार रोक्ने दायित्व लिनुपर्ने उल्लेख गरिन्।
त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगले आफ्नो संवैधानिक दायित्व प्रभावकारी रूपमा निर्वाह गर्दै संस्थागत रणनीति तर्जुमा गरी भ्रष्टाचारसम्बन्धी कसुरहरूको अनुसन्धान, दोषीउपर विशेष अदालतमा मुद्दा दायर तथा विभिन्न निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत सुदृढीकरणका कार्यहरू गर्दै आएको जानकारी दिए।
उनले सार्वजनिक खरिद तथा निर्माण, बजेट विनियोजन र अनुदान वितरणमा अनियमितता, गैरकानुनी लाभ–हानि, सार्वजनिक सम्पत्तिको दुरुपयोग, सेवा प्रवाहमा घुस/रिश्वत लेनदेन, नक्कली शैक्षिक प्रमाणपत्र, राजस्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरीहरू बढी प्राप्त हुने गरेको बताए ।आयोग एक्लैको प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण सम्भव नहुने भएकाले राज्यका सबै संयन्त्र, निजी क्षेत्र, नागरिक समाज र सञ्चार माध्यमलगायत सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक रहेको उनले धारणा राखे।
कार्यक्रममा आयोगको ३५ वर्षे यात्रालाई समेटिएको श्रव्य–दृश्य सामग्री प्रस्तुत गरिएको थियो भने “स्मारिका–२०८२” को लोकार्पण गरिएको थियो। साथै, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा योगदान पु¥याउने सञ्चारकर्मी तथा कर्मचारीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो। समारोहमाराष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।



