काठमाडाै । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ अघि बढिरहेको एनआईसी एशिया बैंक लिमिटेडले ग्राहकको समयानुकूल आवश्यकता र मागलाई सम्बोधन गर्ने उद्देश्यले प्रतिस्पर्धी ब्याजदरमा नयाँ ‘गोल्ड लोन’ कर्जा योजना सार्वजनिक गरेको छ । सुन तथा सुनका गरगहना धितो राखी प्रवाह गरिने उक्त कर्जा योजना औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधासहित उपलब्ध गराइएको बैंकले जनाएको छ । बैंकका अनुसार यस योजनाअन्तर्गत ग्राहकहरूले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
सुनको बार तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने व्यवस्था गरिएको छ । प्रतिस्पर्धी ब्याजदर, सरल प्रक्रिया र छिटो कर्जा प्रवाह यस योजनाका प्रमुख विशेषता रहेको बैंकको भनाइ छ । गोल्ड लोन योजनामार्फत ग्राहकहरूले व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक आवश्यकताका लागि कर्जा लिन सक्नेछन् । साथै, सुन तथा गरगहना खरिद गर्नका लागि समेत यस योजनाअन्तर्गत कर्जा सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई तत्काल नगद आवश्यकताको समाधान गर्न सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ । उक्त कर्जा योजना बैंकका तोकिएका विभिन्न शाखामार्फत उपलब्ध हुनेछ ।
ग्राहकलाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एनआईसी एशिया बैंकले एकद्वार प्रणालीअन्तर्गत ‘कर्जा सहायता केन्द्र’को स्थापना गरेको छ । यस केन्द्रमार्फत कर्जा सम्बन्धी सल्लाह, सुझाव, गुनासो तथा जिज्ञासाको उचित समयमा प्रभावकारी समाधान गरिने बैंकले जानकारी दिएको छ । आकर्षक ब्याजदर, उच्च कर्जा सीमा र ग्राहकमैत्री सेवासहित सार्वजनिक गरिएको ‘गोल्ड लोन’ योजनाले बैंकका ग्राहकहरूलाई वित्तीय आवश्यकता पूरा गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ । एनआईसी एशिया बैंकले भविष्यमा पनि नवीन र प्रतिस्पर्धी वित्तीय उत्पादनमार्फत ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।




