काठमाडाै । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोपमा निर्वाचन आयोगमा उजुरी परेको हो। निवेदक धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा उजुरी दिएका हुन्।
निवेदनमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भलाई लिएर बालेन शाहले सामाजिक सञ्जालमार्फत दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उल्लेख छ। निवेदनमा बालेन शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक तथा तथ्यहीन आरोप भएको दाबी गरिएको छ। यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको निवेदनमा उल्लेख छ। ‘
निवेदनमा महोत्तरी लगायतका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिने भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गर्दै सो कार्य पनि निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गरिएको छ। घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ।




