काठमाडौं । एनएमबी बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न भएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको अध्यक्षतामा सम्पन्न उक्त सभामा सञ्चालक, शेयरधनी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। सभाका क्रममा सहभागी शेयरधनीहरूले बैंकका विभिन्न पक्षमाथि आफ्ना धारणा तथा सुझावहरू व्यक्त गरेका थिए।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, बैंकले आर्थिक वर्ष २०८२ आषाढ मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको, २८३.६५ अर्ब निक्षेप संकलन गरेको र २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
हाल एनएमबी बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।




